राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाः तोकिएकै समयमा सम्पन्न हुने संभावना टर्दै

सुर्खेत, २ असोज (जागरण) । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना तोकिएकै समयमा सम्पन्न हुने संभावना टर्दै गएको छ ।
सुरुमा आर्थिक बर्ष २०६८/०६९ बाट सुरु भई ०७६/०७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएकोमा २०७९/०८० मा सम्पन्न गर्ने संशोधित लक्ष्य लिइएको छ ।
तर हालसम्म भैरहेको कामको प्रगति अनुसार संशोधित समयमा पनि आयोजना सम्पन्न गर्न मुश्किलपर्ने आयोजनाका कर्मचारी बताउँछन् ।
गत आर्थिक बर्ष २०७७÷०७८ सम्म आयोजनाको समग्र भौतिक प्रगती ४८ प्रतिशत र वितीय प्रगती ३८ दशमलव २८ प्रतिशत भएको छ ।
आयोजनाको पहिलो चरण अन्तर्गत साढे १२ किलोमिटर लामो सुरुङ्ग मार्ग निर्माण कार्य सकिएको छ भने अहिले दोस्रो चरण अन्तर्गत बाँध निर्माणको काम भैरहेको छ ।
२०८० सम्ममा निर्माण सम्पन्न गर्नेगरी रमण/ग्वाङ्डोन जेभीले जिम्मा लिएको छ । तर उक्त काम सम्पन्न गर्न अझै ३ बर्ष लाग्ने अनुमान गरिएको छ ।
सुर्खेतस्थित भेरी नदीको चिप्लेमा गर्न थालिएको बाँधमा गत बर्षको बाढीले क्षति पुर्याईएको र गत दुई बर्ष कोरोना महामारीका सामान्य अवस्थाको रफ्तारमा काम हुन नसक्दा आयोजनाको काममा ढिलाई हुने देखिएको हो । तोकिएकै समयमा सम्पन्न हुन मुस्किल देखएको भएपनि अधिकांस काम सम्पन्न गर्ने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदी कर्णाली रैबारलाई बताउनुभयो ।
उहाँका अनुसार आयोजनाका अनुसार दोस्रो चरणको संरचना अन्तर्गत सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलगरी तीन प्रकारका काम छन् ।
हाल सिभिल तर्फको निर्माण भैरहेकोमा हाइड्रो र इलेक्ट्रो मेकानिकल तर्फको काम सुरु हुन सकेको छैन । यी दुबै कार्य एक अर्कासंग सम्बन्धित भएकाले संगसंगै अघि बढ्ने सुवेदीले बताउनुभयो ।
भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ र ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको लक्ष्य छ । साथै बार्षिक आयोजनाको निर्माणपश्चात सिँचाईबाट बार्षिक ३ अर्ब १० करोड र विद्युतबाट ३ अर्ब२२ करोड देखि ४ अर्ब ३ करोडसम्म आम्दानी हुने आयोजनाले जनाएको छ । त्यसैले आयोजना जति ढिला सम्पन्न भयो त्यति नै बार्षिक रुपमा घाटा हुनेछ ।