सुर्खेत, २७ फागुन (जागरण) । कर्णाली प्रदेशमा सवारी दुर्घटना बढ्दै गएको देखिएको छ । साघुरो सडक र सवारी चालकको लापरवाहीले दुर्घटना बढेको हो ।
एक लेनको साँघुरो सडकमा क्षमताभन्दा बढी यात्रु हाल्ने, ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन गरी गाडी चलाउने लगायतका कारण कर्णालीमा सवारी दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीको भनाई छ ।
आर्थिक वर्ष २०७८÷०७९ को श्रावण देखि हाल सम्म कर्णाली प्रदेशमा करिब २ सय ६६ वटा सवारी दुर्घटना भएका छन भने दुर्घटनामा परि १ सय ३३ जनाको मृत्य भएको कर्णाली प्रदेश ट्राफिक कार्यालयको तथ्याङ्कमा छ ।
यो बर्ष मात्रै दुर्घटनामा परि ८९ पुरुष, ३४ महिला, ८ बालक, २ बालिका गरी १ सय ३४ जनाको मृत्यु भएको कर्णाली प्रदेश ट्राफिक कार्यालय प्रवक्ता डि.एसपी विरेन्द्र विकले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
उहाँका अनूसार गत वर्ष २०७७÷७८ मा पनि २ सय ९१ वटा सवारी दुर्घटना भएका थिए । जसमा ७५ पुरुष, १५ महिला, ७ बालक, १ बालिका गरी ९४ जनानले मृत्यु भएको थियो ।
प्रदेश ट्राफिक कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा धेरै मोटरसाइकल ३ सय ३९ वटा दुर्घटना भएका छन् ।
यस्तै जिप÷कार ५२ वटा, ट्याक्टर ३९, अटो÷टेम्पो २८, बस २७, ट्रक टेकंर २१, टिप्पर ५, माइक्रोबस ६ वटा, डोजर ३ वटा दुर्घटनामा परेका छन् ।दुर्घटनामा परी २ सय ५४ जना सख्त घाइते र ३ सय ६९ जना साधारण घाइते भएका छन् ।
यस्तै गत आर्थिक वर्ष २०७७÷०७८ मा पनि एक सय २९ मोटरसाइकल, ४१ ट्रक, ८ टिप्पर, डोजर ७ , ३० बस, ४ माइक्रो बस, ५४ जिप÷कार, ५५ ट्याक्टर, १४ अटो र ३ अन्य सवारी साधनहरु दुर्घटना भएका छन् । जसमा परी ९८ जनाको मृत्यु, एक सय ६९ जना सख्त घाइते भएका छन् भने ३ सय ६९ जना साधारण घाइते भएका प्रवक्ता विकले जानकारी दिनुभयो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सबै भन्दा बढी १ सय ३८, सल्यानमा ३७, रुकुम पश्चिममा १४, कालिकोट १३, जाजरकोट १८, दैलेखमा ३०, जुम्लामा १६, मुगुमा ६, डोल्पा २, हुम्ला ३ वटा सवारी दुर्घटना भएका छन ।
कर्णाली प्रदेशमा सवारी दुर्घटनाका कारण धेरै मानवीय क्षति भइरहेकाले यसको न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम फेरी लागू गर्नुपर्ने उहाले बताउनुभयो ।
