कर्णालीमा सत्ता गठबन्धनकाे प्रमुख दल माओवादीले नै गर्याे संसद अबरुद्ध


सुर्खेत, ३ साउन ।
कर्णाली प्रदेशमा सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रले नै संसद अबरुद्ध गरेको छ।
प्रदेशभाको मंगलबार बसेको बैठक सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले बहिस्कार गरेका हुन् । सरकार एकलौटी ढंगले अघि बढेको भन्दै नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले बिरोध गरेका छन् । पूर्व आर्थिक मामिला मन्त्री समेत रहेका माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले बैठक सुरुहुनेवित्तिकै सभामुख राजबहादुर शाहीसँग समय मागेर सरकारको विरोध गरेका थिए । सरकार एकलौटी हिडेको र प्रमुख सत्ता दल माओवादीलाई निषेध गर्न खोजेको शर्माको भनाइ छ । सरकार नसच्चिए अहिलेकै अवस्थामा प्रदेशसभाका कुनै पनि काम कारबाहीमा सहभागि हुन नसक्ने बताए ।
‘सरकारले प्रमुख सत्ता साझेदार दल माओवादीलाई पूर्ण वेवास्ता गरेको छ’सांसद शर्माले भने, ‘विगतमा पनि गठबन्धन सरकार थियो तर यो सरकारले माओवादीलाई लतारेर अघि बढ्न खोजेको देखियो ।’ सांसद शर्मा आफु आर्थिक मन्त्री हुँदा अघिल्लो सरकारले परिवर्तनका लागि जीवन समर्पण गर्नेको स्मृतिमा सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको तर, हालको सरकारले यसलाई कार्यान्वयन नगरी बजेट फ्रिज गराएको बताए ।
यस्तै, सरकारकै कारण माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्व बिहिन बनेको, शान्ति पूनस्र्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लागयतका महत्वपूर्ण विधेयक पनि सरकारका कारण प्रदेशसभाको कार्यसूचिमा पर्न नसकेको गुनासो गरेका थिए ।
शर्माले आफ्नो भनाई राखि सकेपछि माओवादीबाट सरकारमा सहभागी मन्त्री, काँग्रेसका सांसद, मन्त्री र एमालेका सांसदहरु बाहेक अन्य माओवादीका सांसदहरू बैठकमा नबसि उठेर हिडेका थिए । त्यसपछि आधा घण्टा लागि स्थगित भएको बैठक पुन बसेन् ।
कर्णालीमा नेपाली काँग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको गठबन्धन सरकार छ । सरकारको नेतृत्व गरेका जीवन बहादुर शाहीप्रति माओवादीले असन्तुष्टि पोखेको छ ।