प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि कर्णालीमा सबै मतपत्र ल्याइयो

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कर्णालीसहित चारवटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ ।
कर्णाली, सुदूरपश्चिम, गण्डकी, र लुम्बिनी प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको हो ।
बिहीबार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकोप्टरमार्फत ढुवानी भएसँगै चारवटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको हो ।
शुक्रबारदेखि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत प्रदेश १ को मतपत्र ढुवानी सुरु हुने छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ ।
यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने छ ।
जसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी छ। शुक्रबारसम्म सबै मतपत्र छपाइ सम्पन्न हुनेछन् । कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्रसमेत पुग्ने छ ।