आज चन्द्रग्रहण, कुन राशिलाई फल,कुनलाई कष्ट

जागरण संवाददाता
सुर्खेत,२२ कार्तिक ।
आज ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मंगलबार बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिनेछ । बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताएका छन् । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ। एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जनाएका छन् ।
बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न सकिनेछ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिने छ । नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ ।
ग्रस्तोदित खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनामी क्लबले देखाउने व्यवस्था मिलाएको छ। सामाखुसीस्थित एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिनुभयो ।
यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । आज लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई घात हुने देखिएको नेपाल पञ्जाग निर्णायक विकास समितिले जनाएको छ ।
चन्द्रग्रहण मेष राशीलाई घात,वृषलाई व्यय, मिथुनलाई लाभ, कर्कटलाई सुख,सिंहलाई माननाश, र कन्या राशिलाई कष्ट फल दिने योग रहेको छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता,मकर राशिलाई व्यथा,कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने राष्ट्रिय पञ्चांगमा उल्लेख छ ।