आर्थिक पाटोलाई सबल बनाउँदै युवाहरु

सुर्खेत । सुर्खेत वराहाताल गाउँपालिकामा विभिन्न उद्यमशिलता सम्बन्धी सिप सिकेर युवाहरुले आफ्नो आर्थिक पाटोलाई बलियो बनाउन थालेका छन ।
युवाहरुले सानो लगानीमा व्यवसाय संचालन गरेर आफ्नै गाउँमा आम्दानी लिन थालेका हुन ।
उनिहरुले सेभ द चिल्ड्रेनको साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको पावर परियोजना मार्फत विभिन्न व्यवसायमुलक सिपहरु सिकेका थिए ।
परियोजनाले विशेष गरेर विपन्न वर्गका युवाहरु जसले सिप र आर्थिक अभाव रहेका व्यक्तीहरुलाई विभिन्न व्यवसायिक सिप सिकाएको थियो भने उनिहरुलाई व्यवसाय संचालन गर्न २८ हजार रकम समेत सहयोग गरेको थियो ।
वराहातालमा मात्रै परियोजनाले गरिबीको रेखामुनी रहेका ६५ जनालाई व्यवसाय संचालन गर्न सहयोग गरेको परियोजनाका संयोज तेज सोनामले जानकारी दिनुभयो ।
परियोजनाबाट कपाल काट्ने सिप सिकेर बड्डीचौरमा आफ्नो व्यवसाय थालेका वराहातालका दिल बहादुर सुनारले अहिले मासिक ३५ हजार कमाई हुने गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
उहाले विगतमा आफुले पढ्न नपाएको र रोजगारी नहुँदा जीवनदेखि हार खाएको भएपनि परियोजनाको सहयोगमा स्वदेशमै स्वरोजगार हुन सफल भएको प्रतिक्रिया दिनुभयो ।
परियोजना मार्फत संचालन भएका ४ वटा व्यवसायहरुको आज अनुगमन गरिएको छ । वराहाताल गाउँपालिका, सेभ द चिल्ड्रेन र स्याक नेपालका प्रतिनिधिहरुले संयुक्त अनुगमन गरेका थिए ।
वराहाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगर, वडा नम्बर ५ का वडा अध्यक्ष धिमराज जोल्मी मगर, प्रमुख प्रशासकीय अधिकृत ललित कुमार थापा, विभिन्न शाखा प्रमुख र सेभ द चिल्ड्रेनका मतिलाल ढकाल, स्याक नेपालका महासचिव गंगा गुरुङ्ग लगायतले व्यवसायहरुको अनुगमन गरेका थिए ।
नयाँ आर्थिक बर्षमा कार्यक्रमलाई अझै प्रभावकारी बनाइने
परियोजना सल्लाहकार समिति एवम फिल्ड अनुगमन बैठकले सन २०२३ मा परियोजनालाई थप प्रभावकारी बनाउन साझेदारी गरेर अगाडी बढ्ने निर्णय गरेको छ ।
बैठकमा बोल्दै वराहाताल शिक्षा शाखा प्रमुख डम्बर कुमारी रोकायले परियोजनालाई थप प्रभावकारी बनाउन यसको क्षेत्र विस्तार गरिनुपर्नेमा जोड दिनुभयो ।
वराहाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी पुन मगरले कार्यक्रमको प्रभावकारिता राम्रो देखिएको भन्दै आगामी दिनमा पनि सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
गाउँपालिकामा शौचालय नरहेका घरधुरीको तथ्याङ्क संकलन गरि शौचालय निर्माणमा सन २०२३ मा सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।