कपाल काट्ने व्यवसायले फेरिएको जीवन

सुर्खेत । सुर्खेत बराहाताल गाउँपालिका–५ का दिलबहादुर सुनार २० वर्षको हुनुभयो । पढ्नुपर्ने युवावस्थामा काम गर्नुपर्ने बाध्यताले सतायो । परिवारको आर्थिक अवस्था नाजुक भएका कारण दिलबहादुरले ८ कक्षा पढ्दापढ्दै पढाइ छोड्नुप¥यो । परिवारले खेती किसानी गर्दै आए पनि पर्याप्त जग्गा नहुँदा अरुको जग्गा अधिया गरेर खानुपर्ने बाध्यता थियो । बुबाले छ महिनासम्म भारतको कालापहाड गएर कमाएको रकमले शिक्षादीक्षाको त कुरै छोडौँ खाना लाउनसमेत परिवारलाई धौ धौ हुन्थ्यो ।
आर्थिक अवस्था नाजुक भएकै कारण दिलबहादुरले आफ्नो पढाइ बीचमै छोड्नुपरे पनि भाइबहिनीको पढाइ नरोकियोस् भन्ने उद्देश्यले आफँै कमाइ गरेर योजना बनाउनुभयो । तर न पढाइ छ नत कुनै ज्ञान, कतै पनि काम गर्ने अवसर भने मिलेन । अन्ततः उही कालापहाड गएर कमाउने उद्देश्यले उहा भारतको सिम्लातर्फ जानुभयो । त्यहाँ गएर अनेक दुःख पाएर छ महिनापछि फर्किएका दिलबहादुरको घरको अवस्था उस्तै दयनीय थियो । आफूसँगैका साथीहरु कापीकिताब बोकेर विद्यालय गइरहेका हुन्थे । तर उहाँलाई पढ्ने इच्छा भए पनि घरको जिम्मेवारी काँधमा आइसकेकाले जीवनदेखि हार खाइसक्नुभएको थियो ।
एकदिन गाउँमा उद्यमशीलतासम्बन्धी तालिम सञ्चालन हुँदैछ भन्ने सुनेर दिलबहादुरले आवेदन दिनुभयो । वडा कार्यालयले पनि उहाको नाम सिफारिस गरेर पठाएछ । गाउँपालिकासँगको समन्वय र सेभ द चिल्ड्रेनको साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले सञ्चालन गरेको पावर परियोजनामार्फत १८ वर्षदेखि २४ वर्षसम्मका युवालाई उद्यमशिल बनाउने तालिम सञ्चालन गरेको थियो ।
तीन महिनासम्म कपाल काट्ने सीप सिकेपछि केही गर्न सक्छु भन्ने आँट आयो । दिलबहादुरले भन्नुभयो, “बराहाताल गाउँपालिका र स्याक नेपालले मलाई कपाल काट्नेसम्बन्धी सीप सिकायो, त्यसपछि मलाई अब केही गर्न सक्छु भन्ने लागेकाले कपाल काट्ने व्यवसाय सञ्चालन गर्ने योजना बनाएँ ।”
कपाल काट्ने योजना त बनाएँ तर मसँग एक रुपैयाँ पनि थिएन,” उहाले भन्नुभयो, “पावर परियोजनाबाट मलाई रु २८ हजार रकम व्यवसाय सञ्चालन गर्न सहयोग मिल्यो, त्यही पैसाले गाउँपालिकाको बड्डीचौर बजारमा कपाल काट्ने व्यवसाय सञ्चालन गरेँ ।”
व्यवसाय सुरु गर्दा सुरुमा त खासै चलेन तर केहीसमय पछि सोचेको भन्दा धेरै आम्दानी हुन थाल्यो । उहाले भन्नुभयोे, “यहाँ कपाल काट्न पाइन्छ रे भन्ने थाहा पाएपछि अहिले मेरो सैलुनबाट दैनिक रु १५ सय जति कमाइ हुन्छ ।” सीप सिकाउने र व्यवसाय सञ्चालनमा बाटो देखाउने संस्थाप्रति आभार प्रकट गर्दै दिलबहादुरले यही खर्चबाट भाइबहिनी पढाउनेदेखि घरखर्च धान्न सहज भएको बताउनुभयो । सरकारले आफूजस्तै युवालाई सीप सिकाएर स्वदेशमै रोजगारी सिर्जना गराउनसके विदेश जानुपर्ने बाध्यता हट्ने उनको सुझाव छ ।
दिलबहादुर मात्रै होइन, उक्त गाउँपालिकाकै भोजराज ठाडाको परिवारको आर्थिक अवस्था पनि उस्तै थियो । उहा बोल्न पनि सक्दैनन् । एकातिर आर्थिक अवस्था नाजुक थियो भने अर्कोतिर सुस्त श्रवण भएका छोरा हुँदा भोजराजको बुबालाई साह्रै चिन्ता परेको थियो । पावर परियोजनामार्फत नै कपाल काट्ने सीप सिक्ने अवसर पाएपछि उहाले पनि बड्डीचौरमै कपाल काट्ने पसल खोल्नुभयो । भोजराजलाई पनि परियोजनाले व्यवसाय सञ्चालन गर्न रु २८ हजार सहयोग गरेको थियो । अहिले उहाले मासिक रु ३० हजार रकम कमाइ गर्दै आएको भोजराजका बुबाले जानकारी दिनुभयो ।
मलाई छोराको धेरै चिन्ता थियो, ती बुबाले भन्नुभयो, “छोराले सीप सिकेर सजिलै पैसा कमाइरहेकाले अहिले म धेरै खुसी छु ।” पैसा कमाउने भएपछि छोरो पनि जिम्मेवार बन्दै गएको अनुभूति हुन थालेको उहाको भनाइ छ । दिलबहादुर र भोजराजजस्तै गरिबीको रेखामुनि रहेका र आर्थिक अभावकै कारण पढाइ छोडेका व्यक्तिलाई स्थानीय सरकारसँग मिलेर उद्यमशीलतासम्बन्धी विभिन्न सीप सिकाएर उद्यमशील बनाइएको पावर परियोजनाका संयोजक तेज सोनामले जानकारी दिनुभयो । अहिले सुर्खेतको बराहाताल र वीरेन्द्रनगरमा यो कार्यक्रम लागू छ । बराहातालका ६५ र वीरेन्द्रनगरका ५५ जना गरी एक सय २० युवायुवतीलाई कपाल काट्ने, ब्युटीपार्लर, कुखुरापालन, बाख्रापालनलगायत सीप सिकाएर उद्यमी बनाइएको उहाको भनाइ छ ।
तालिम लिएका सबै प्रशिक्षार्थीलाई व्यवसाय सञ्चालन गर्न रु २८ हजारका दरले रकमसमेत सहयोग गरिएको र यसबाट स्वरोजगार बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्वरोजगारमूलक कार्यक्रममा स्थानीय सरकारको पनि सहयोग र साझेदारी रहने जनप्रतिनिधिले बताएका छन् । गाउँमै रोजगारी दिने सवालमा स्थानीय सरकारले पनि योजना बनाएको भन्दै सबै मिलेर युवालाई स्वरोजगार बनाउनुपर्ने उनिहरुको भनाई छ ।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी पुनमगरले कार्यक्रमको प्रभावकारिता राम्रो देखिएको भन्दै आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । स्थानीय सरकारसँग पनि उद्यमशीलतासम्बन्धी कार्यक्रम छन्, उहाले भन्नुभयो, “एउटै खालका कार्यक्रमलाई सँगसँगै लिएर ठूलो सङ्ख्यामा युवालाई सीप सिकाएर स्वरोजगार बनाउन हातेमालो गर्छौँ ।” रासस