ओटीसी केन्द्रहरूको समिक्षा बैठक सम्पन्न

सुर्खेत, १ फागुन ।
सुर्खेतका बहिरङ्ग उपचार केन्द्र (ओटीसी) हरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि समिक्षा बैठक सम्पन्न भएको छ ।
कडा कुपोषण भएका बालबालिकाहरुको उपचारका लागि जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालन गरिएका ओटीसी सेन्टरहरुको सोमबार वीरेन्द्रनगरमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले आयोजना गरिएको समिक्षा बैठकमा जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखा, ओटीसी सेन्टर फोकल पसर्नन र ओटीसी सञ्चालन भएका स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित स्वास्थ्यकर्मीहरुले पोषण अवस्था सुधारका लागि ओटीसी सेन्टरबाट सहयोग पुगेको भन्दै यसलाई थप व्यवस्थित बनाउनुपर्ने सुझाव दिएका छन् ।
आइतबार र सोमबार वीरेन्द्रनगरमा सञ्चालन भएको बैठकको समापन कार्यक्रममा आफ्नो भनाइ राख्दै जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बहिरङ्ग उपचार केन्द्र व्यवस्थापनको लागि पालिकाहरूले ध्यान दिनुपर्ने बताउनुभयो । सुआहारा कार्यक्रमका कर्णाली प्रदेश संयोजक सुरज कुमार शर्माले कर्णालीमा पोषणको अवस्था केही सुधार भएपनि कम तौल भएका बच्चाको जन्म र पूर्ण स्तनपानको अवस्था सुधार गर्नुपर्ने देखिएको बताउनुभयो । सबैको प्रयासबाट मात्रै पोषण सुधार गर्न सकिने भन्दै शर्माले सबै सरोकारवालाहरु हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
जिल्लाका नौ वटै पालिकाका विभिन्न १३ वटा स्वास्थ्य संस्थामा ओटीसी सेन्टर सञ्चालनमा रहेको जनस्वास्थ्य सेवा कार्यालयका पोषण फोकल पर्सन अमर रानाले जानकारी दिनुभयो । समुदायमा महिला स्वास्थ्य स्वंसेविका र स्वास्थ्यकर्मीले पहिचान गरेरका कुपोषित बालबालिकाहरुको पोषण सुधारका लागि ती सेन्टरमा उपचार हुने रानाले बताउनुभयो ।