एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ: अध्यक्ष ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति चुनावपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताउनुभएको छ ।
बिहीवार राष्ट्रपतिको चुनावपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने बताउनुभयो । उहाँले आउँदो राष्ट्रपति देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, नागरिकप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसाबले देशको अभिभावकको भूमिका वहन गर्नसक्ने आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम आएको छैन । राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, नागरिकप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसाबले देशको अभिभावकको भूमिका वहन हुनुपर्छ ।’
अध्यक्ष ओलीले यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरू सङ्कीर्ण स्वार्थ बोकेकाहरूले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको भन्दै राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने, जन्मिँदै श्रेष्ठ भनेर जस्तो भए पनि पुज्ने बानी परेका र सङ्कीर्णताका काम गर्नेहरूले देशका लागि अडेर काम गरे भनेर विरोध भएको उल्लेख गर्नुभयो । यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्त्वपूर्णरूपमा काम गरेको उहाँले दाबी गर्नुभयो ।