कर्णाली प्रदेशमा उत्पादन हुने कृषि वस्तुको आफ्नै लोगो अंकित

जागरण १२, सुर्खेत । कर्णाली प्रदेशमा उत्पादन हुने कृषि वस्तुको आफ्नै लोगो अंकित गर्न थालिएको छ ।
प्रदेश सरकारले कर्णालीमा उत्पादित कृषि वस्तुमा आफ्नै लोगो टाँसेर बजारमा पठाउन सुरु गरेको हो । अब कर्णालीमा उत्पादित कृषि वस्तुहरू ‘मूल्यवान’ अंकित लोगोसहित बजारमा उपलब्ध हुने छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यो लोगो तयार पारेको हो । मन्त्रालयले तयार गरेको ‘मूल्यवान’ लोगो मुख्यमन्त्री राजकुमार शर्माले सार्वजनिक गर्नुभएको छ ।
कर्णालीमा मूल्यवान कृषिजन्य वस्तुहरू उत्पादन हुन्छन् भन्ने सन्देश ‘मूल्यवान’ लोगोले दिने प्रदेश सरकारले जनाएको छ ।
कर्णालीमा रैथाने, अर्गानिक र मूल्यवान कृषि वस्तुहरू उत्पादन हुने र बजारमा आउने सन्देश दिन ‘मूल्यवान’ लोगो प्रचलनमा ल्याइएको सरकारको दाबी छ । कर्णालीमा हाल अर्गानिक र बहुमूल्य कृषि बाली तथा फलफूलहरू उत्पादन हुन्छन् । तर त्यसको उचित बजारीकरण हुन सकिरहेको छैन ।
यही कारण यहाँ उत्पादन हुने रैथाने र बहुमूल्य बालीहरू मार्सी चामल, कागुनो, सिमी, फापर, आलु, अदुवा र बेसार तथा फलफूलहरू स्याउ, ओखर र सुन्तलालगायतका कृषि उत्पादनले उचित मूल्य पाउन सकेका छैनन् ।
किसानको उत्पादनले उचित मूल्य नपाएपछि प्रदेश सरकारले यसको बजारीकरणको योजना अगाडि सारेको हो । यिनै अर्गानिक तथा बहुमूल्य कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजान र प्रचार गर्ने उद्देश्यले मूल्यवान लोगो तयार गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको हो ।
मुख्यमन्त्री शर्माले यो लोगो किसानको सम्पत्ति भएको बताउनुभयो । भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.नरहरिप्रसाद घिमिरेले कर्णाली प्रदेशलाई प्रांगारिक प्रदेश बनाउने निर्णय गरिसकेको हुँदा त्यसैको सोच अनुरुप ‘मूल्यवान’ लोगो सार्वजनिक गरिएको बताउनुभएको छ ।