कर्णाली प्रदेशमा कोरोना खोप अभियान, पहिलो दिन करिब आठ सय जनालाई खोप दिइयो

नन्द कठायत ।
सुर्खेत, १५ माघ (जागरण) । कर्णाली प्रदेशमा कोरोना खोप अभियान आजदेखि शुरु गरिएको छ ।
आज पहिलो दिन प्रदेशका ७ सय ५१ जनालाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ ।
कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार दश जिल्लाका १२ वटै अस्पतालबाट ७ सय ५१ जनालाई खोप दिइएको हो ।
जसमध्ये सबै भन्दा बढी प्रदेश अस्पताल सुर्खेतमा दुई सय २५ जना, मेहेलकुना अस्पतालमा ८४, दैलेखमा २० जना, कालिकोटमा ७९ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक सय २३ जना, हुम्लामा २९ जना, डोल्पामा २०, जाजरकोट र मुगुमा ४० –४० जना, रुकुममा र सल्यानमा ३०–३० जनालाई खोप दिइएको निर्देशक डाक्टर रबिन खड्काले कर्णाली रैबारलाई जनाकारी दिनुभयो । कर्णालीमा पहिलो चरणको खोपका लागि २६ हजार डोज आइपुगेको डाक्टर खड्काले बताउनुभयो ।
आज पहिलो दिन केही जिल्लामा खोप लगाउने कार्यक्रम ढिला सुरु भएको भन्दै खड्काले पहिलो दिनभन्दा यो संख्या बढ्ने बताउनुभयो । यस्तै, कर्णालीका दश जिल्लामा पहिलो चरणको खोप कार्यक्रम एघार हजार पाँच सय ८० जनामा लगाईने निर्देशक डाक्टर खड्काले बताउनुभयो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत सुरक्षाकर्मी, सरसफाईकर्मी, एम्बुलेन्सका चालक, सहचालक र महिला स्वास्थ्यस्वंयसेविकालाई पहिलो चरणमा खोप लगाउन सुरु भएको डा.खड्काले बताउनुभएको छ ।