
सुर्खेत, ३० असोज ।
वीरेन्द्रनगर नगरपालिकामा फोहोर व्यवस्थापन प्रभावकारी नभएको भन्दै नगरवासीले गुनासो गरेका छन् ।
मंगलबार नगरपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुले फोहोर व्यवस्थापन प्रभावकारी नभएको गुनासो गरेका हुन् । टोलमा निर्धारित तालिका अनुसार फोहोर उठाउने गाडी नआउँदा कहिलेकाँही महिनौँसम्म फोहोर घरमै राख्नुपरेको गुनासो गरे । यस्तै सहभागीहरुले विभिन्न टोलमा खानेपानी समस्या रहेको, सडकहरुको स्तरोन्नती नभएको, बिजुलीका पोलहरु जीर्ण हुँदा पनि व्यवस्थापन नभएको, महंगी बढेको, स्वास्थ्य संस्थामा नियमित औषधि नपाइएको लगायतका गुनासो गरेका छन् । नागरिकले गरेका गुनासोको सम्बोधन गर्दै नगर उपप्रमुख निलकण्ठ खनालले नागरिकका समस्या समाधानका लागि नगरपालिका लागि रहेको तर सिमित स्रोत साधनका कारण सबैका आवश्यकता पूरा हुन नसकेको बताउनुभयो । उहाँले फोहोर व्यवस्थापन लगायतका काममा नागरिक सहभागिता पनि उत्तिकै आवश्यक हुने भन्दै नगरपालिकाले अघि सारेका योजना कार्यान्वयन, त्यसको रेखदेख तथा दिगोपनाका लागि हातेमालो गर्न नागरिक, निजी क्षेत्र लगायत सबैसंग आग्रह गर्नुभयो ।
कर्णाली प्रदेश सरकारको गुनासो सुनुवाई संयन्त्र ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’ कार्यक्रम अन्तर्गत सहकर्मी समाजले कर्णाली प्रदेश सरकार र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमसंगको सहकार्यमा नागरिक समूह र स्थानीय सरकारबीच सार्वजनिक सुनुवाईको आयोजना गरेको हो । कार्यक्रममा उठेका सवालको समाधानका लागि तीन बुँदे लिखित प्रतिबद्ध गरिएको छ । वीरेन्द्रनगर नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा औषधि र सेवा प्रवाहको तत्काल अनुगमन गर्ने, फोहोर व्यवस्थापनका लागि घर घरमा कुहिने र नकुहिने फोहोर छुट्याउने तथा नियमित रुपमा उठाउने व्यवस्था मिलाउने र नागरिकका समस्या तथा गुनासा सुनुवाईका लागि उपयुक्त संयन्त्रको विकास गर्ने प्रतिबद्धता गरिएको हो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, सुशासन समितिका संयोजक टिकाराम शर्मा, गुनासो सुन्ने अधिकारी प्रकाश पौडेल लगायत विभिन्न वडाका वडाअध्यक्षहरु, नगरपालिकाका शाखा प्रमुखहरु लगायत टोल विकास संस्थाका प्रतिनिधि र नागरिक समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
