सुर्खेत ४ मंसिर । नेकपा (एमाले) सुर्खेतको स्वयम्सेवक टोली जाजरकोट र रूकुम–पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको अभियानमा जुटेको छ । नेकपा एमाले पाटिको केन्द्रीय योजना अनुसार सुर्खेत जिल्ला कमिटीबाट जाजरकोट नलगाड र भेरी नगरपालिका वडा नम्बर १ को पीपे गाउबाट आज देखी ध्वस्त भएका घरहरूको सफाइ गर्ने अभियानमा जुटेको हो ।
सुर्खेतको वीरेन्द्रनगरसहित एमालेले सुर्खेतका सबैजसो पालिकाका कमिटीहरुलाई प्रभावित क्षेत्रमा खटाएको जनाइएको छ ।
प्रत्येक पालिकाबाट २५ जनाको स्वयम्सेवक टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर भत्किएका घरहरुको व्यवस्थापन तथा अस्थायी टहरा निर्माणको काममा लागेको एमाले सुर्खेतका सचिवालय सदस्य गंगाराम तिमिल्सेनाले जनाए । नेता तिमिल्सेनाको संयोजकत्वमा खटिएको वीरेन्द्रनगरको टोली सोमवारदेखि जाजरकोटको भेरी नगरपालिकामा पुनर्निर्माणमा जुटेको छ ।
वीरेन्द्रनगरको स्वयंसेवक टोली आइतवार प्रभावित क्षेत्र जाजरकोटतर्फ प्रस्थान गरेको थियो । उक्त टोलीमा जिल्ला पार्टी अध्यक्ष अमृत विसीसहित २६ जना सहभागि छन् ।
नेकपा एमाले सुर्खेतको प्रचार विभाग प्रमुखसमेत रहेका तिमिल्सेनाले प्रभावित क्षेत्रको आवश्यकता हेरेर सोही वा अन्य स्थानमा निर्माणको काम गर्न १० दिनपछि अर्को टोलि पनि खटिने जानकारी दिए । उनले भने, ‘एमाले जनताको पार्टी हो, हामी उहाँहरुको सुख र दुःखमा साथ दिन्छौँ ।’
नेकपा एमाले जिल्ला कमिटी सचिवायको सदस्य पुर्ण प्रसाद पौड्यालले भूकम्प प्रभावित क्षेत्रमा अहिले भत्किएका घरहरुको पुनर्निर्माणमा मंसिर १७ गते सम्म काम गर्ने बताउनुभयो । उहाँँका अनूसार भत्किएका संरचनाको काम सम्पन्न गरेर मात्रै र्फकीने छ ।
गएको कार्तिक १७ गते (शुक्रवार) मध्यरात जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा बढी क्षति पुगेको छ । यी दुई जिल्लामा भूकम्पबाट एक सय ५३ बढीको मृत्यु भएको छ भने हजारौं घरहरुमा क्षति पुगेको छ ।