आज राष्ट्रिय सभाका नयाँ सांसदहरु शपथ लिदै

फागुन २१, काठमाण्डौ । राष्ट्रिय सभाका नयाँ १९ सांसदहरुले आज शपथ लिँदैछन् । गएको माघ ११ मा भएको चुनावबाट निर्वाचित सांसदहरुले आज शपथ लिन लागेका हुन् ।
आज शपथ लिने नयाँ सांसदहरुमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, जितजङ्ग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट तथा माओवादीबाट रेनु चन्द, विष्णुबहादुर विश्वकर्मा, झक्कु सुवेदी, मनरूपा शर्मा र श्रीकृष्ण अधिकारी छन् ।
यस्तै एकीकृत समाजवादीबाट सावित्री मल्ल र घनश्याम रिजाल विश्वकर्मा, जसपाबाट पूजा चौधरी तथा एमालेबाट निर्वाचित रुक्मिणी कोइरालाले पनि शपथ लिँदैछन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको ६ वर्षे कार्यकाल हिजो नै सकिएको छ ।
एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १, स्वतन्त्र १ र राष्ट्रपतिबाट मनोनीत १ सांसदको कार्यकाल सकिएको हो । उनीहरूको ठाउँमा नयाँ सांसद आउन लागेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक जना सदस्यको भने टुङ्गो लाग्न बाँकी छ । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाई सदस्यको निर्वाचन हुने व्यवस्था छ ।
५९ सदस्य रहने राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी पहिलो, १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो, आठ सांसदसहित एकीकृत समाजवादी चौथो, तीन सांसदसहित जसपा पाँचौँ दल हुनेछन् । लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक जना छन् । राष्ट्रियसभा अध्यक्षको लागि फागुन २९ गते चुनाव हुने तय भैसकेको छ ।