पश्चिमी वायुको प्रभाव ः यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

मंसिर १२, काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
तराई भू–भागका केही स्थानहरूमा तथा पहाडी भू–भागका थोरै स्थानहरुमा हुस्सु÷कुहिरो लागेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।
शुक्रबारबाट भने कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।