बालबालिका र किशोर किशोरी मानसिक स्वास्थ्य समन्धि स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिँदै कर्णाली प्रदेश सरकार

सुर्खेत ७ पुस ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले स्थानीय तहसम्मका स्वास्थ्य संस्थाबाट बालबालिका र किशोर किशोरी मानसिक स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्ने बताउनुभएको छ ।

स्थानीय स्वास्थ्य संस्थाबाट बालबालिका र किशोर किशोरी मानसिक स्वास्थ्य समन्धि सेवा दिनका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिने मन्त्रालयको योजना छ । जसका लागि मन्त्रालयले तालिम निर्देशिका तयार गर्दैछ । तालिम निर्देशिका प्रबोधिकरण सम्बन्धी आज मन्त्रालयले वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सामाजिक विकास मन्त्री भण्डारीले स्थानीय तहसँगको समन्वय सहकार्यमा स्वास्थ्यसेवा सुधार गर्ने बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य सुधारका लागि कर्णाली प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो।

सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ बहादुर पोख्रेलले तालिम निर्देशिकाले मानसिक स्वास्थ्य रणनीति कार्यन्वयन गर्न सहयोग पुग्ने बताउनुभयो । कान्ति बाल अस्पतालमा कार्यरत मनोचिकत्सक डा अरूणराज कुँवरले समयमा समस्याको पहिचान भएमा अधिकांस मानसिक स्वास्थ्य समस्या निको हुने भन्दै आधारभूत तहको मानसिक स्वास्थ्य सेवा स्थानीय तहबाट प्रदान गर्नुपर्ने बताउनुभयो । त्यसका लागि स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिन दिनुपर्ने डा कुँवरको भनाइ छ ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा रविन खड्काले बालबालिका तथा किशोर किशोरी  मानसिक स्वास्थ्य राम्रो हुनु परिवार, समुदाय र राष्ट्रलाई राम्रो हुने भन्दै सबैको सहकार्यमा मानसिक स्वाथ्यका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोरोग विशेषज्ञ डा सुशील समदर्शीले बालबालिका र किशोर किशोरीमा हुने मानसिक स्वास्थ्य समस्या समयमै नै पहिचान गरेर उपचार गर्न सके देशलाई नै योगदान पुग्ने बताउनुभयो । त्यसका लागि मानसिक रोग सम्बन्धी जनचेतना जगाउन अति आवश्यक रहेको उहाँको भनाइ छ ।

कर्णाली प्रदेश सरकार मानसिक स्वास्थ्य रणनीति बनाउने पहिलो प्रदेश हो । मानसिक स्वास्थ्यसम्बन्धी नीति निर्माणका साथै कार्यान्वयनमा सिएमसी नेपालले प्राविधिक सहयोग गर्दै आएको छ । बालबालिका र किशोर किशोरी मानसिक स्वास्थ्य समन्धि तालिम निर्देशिका निर्माणमा पनि यूनीसेफ सिविन सिएमसी नेपालको प्राविधिक सहयोग रहेको छ ।