निजामती सेवा ऐन संशोधनको माग, पूरा नभए आन्दोलनको चेतावनी


नवराज रोकाय
१३ माघ, सुर्खेत – नेपाल निजामती कर्मचारी संगठन सुर्खेतले संघ, प्रदेश र स्थानीय तहमा लागू भइरहेका निजामती सेवा ऐन र नियमावलीका जटिल व्यवस्थाहरू तत्काल संशोधन गर्न माग गर्दै आफ्ना माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आज सुर्खेत जिल्ला अध्यक्ष सीता कँडेलको अध्यक्षतामा सम्पन्न नवनिर्वाचित जिल्ला कार्यसमितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले कर्णाली प्रदेश निजामती सेवा ऐन र नियमावली तथा स्थानीय सेवा ऐन र नियमावलीमा देखिएका विभेदकारी र जटिल व्यवस्थाहरूले कर्मचारीहरूको मर्म र भावना उपेक्षा गरेको ठहर गर्दै तत्काल संशोधन गर्न जोडदार माग गरेको छ । संगठनले तीनवटै तहका कर्मचारीहरूको भावनालाई समेट्ने गरी संघीय निजामती सेवा ऐन छिटो जारी गर्न सरकारलाई आग्रह गरेको छ ।

बैठकले संघीय सरकार र प्रदेश सरकारले कर्मचारीका जायज मागहरू बेवास्ता गरे आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएको छ ।
बैठकपछि अध्यक्ष कँडेलले कर्मचारीको भावना र समस्यालाई बेवास्ता गरी अगाडि बढाइएका नियम र ऐनले कर्मचारीको सेवा, सुविधा र काममा नकारात्मक प्रभाव पारेको भन्दै यदि यसमा सुधार नगरिए आन्दोलनका कार्यक्रमहरु तय गरीने बताउनुभयो ।
बैठकले निवर्तमान कार्यसमितिका उपलब्धिहरूको समीक्षा गर्दै आगामी वर्षका लागि वार्षिक योजना तर्जुमा गर्ने निर्णय समेत गरेको छ । १२ औँ जिल्ला अधिवेशनबाट पारित विभिन्न प्रस्तावहरू कार्यान्वयनका लागि प्रभावकारी ढंगले योजना निर्माण गरिने निर्णय बैठकले गरेको छ ।
संगठनले आफ्ना मागहरूलाई समयमै सम्बोधन गर्न सरकारलाई पुनः सचेत गराउँदै, कर्मचारीका अधिकार र भावनाको सम्मान गर्न अपिल गरेको छ ।
बैठकका क्रममा बाह्रौँ जिल्ला अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान र्पुयाउने सबैलाई धन्यवाद ज्ञापन गर्दे संगठनलाई थप प्रभावकारी कार्ययोजना बनाउने निर्णय गरेको छ ।


यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्दै पत्रकारिताको माध्यमबाट संगठनका गतिविधिहरूलाई उजागर गर्न आग्रह समेत गरेको छ ।