
नवराज रोकाय
११ साउन, सुर्खेत
मौरी पालन व्यवसायमा सम्भावनाको नयाँ ढोका खोल्ने उद्देश्यसहित कर्णाली प्रदेशमा पहिलोपटक मौरी बुटक्याम्प सञ्चालन गरिएको छ । नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेश र हेल्भेटास नेपालको इन–इलम परियोजनाको साझेदारीमा यही साउन ५ गतेदेखि आज (आइतबार) सम्म सुर्खेतको वीरेन्द्रनगरमा रहेको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रमा सात दिने तालिम सम्पन्न भएको हो ।
कर्णाली प्रदेशका दैलेख, सुर्खेत र जाजरकोट जिल्लाबाट आएका १३ महिला र १९ पुरुष गरी ३२ जना मौरीपालक किसानहरू यस बुटक्याम्पमा सहभागी रहेका थिए । उनीहरूलाई मौरीपालनसँग सम्बन्धित व्यावसायिक ज्ञान, उद्यमशीलता विकास, मौरी चरन व्यवस्थापन, मौरीमा लाग्ने रोगको पहिचान तथा उपचार, कृतिम रानी उत्पादनदेखि मौरी विष संकलन र मौरी थेरापी उपचार केन्द्र स्थापनासम्मका विविध विषयमा प्रशिक्षण दिइएको हेल्भेटास इन–इलम परियोजनाका कार्यक्रम संयोजक टेकबहादुर सिंहले बताउनुभयो ।
परियोजना संयोजक सिंहका अनुसार मौरीपालनमा व्यवसायिक सोच भएका व्यक्तिहरूलाई लगानीकर्तासँग जोड्ने प्रयाससहित यो तालिम सञ्चालन गरिएको हो । उहाँले मौरी पालन र महको मूल्य श्रृंखलालाई सुदृढ बनाउँदै दीगो कृषि व्यवसायका रूपमा विकास गर्नु नै परियोजनाको दीर्घकालीन उद्देश्य रहेको बताउनुभयो । यसैबीच, कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र सुर्खेतका निमित्त प्रमुख दीपक कुमार भण्डारीले कर्णालीमा मौरीपालनको अत्यन्तै ठूलो सम्भावना हुँदाहुँदै पनि नीतिगत कमजोरीका कारण व्यवसाय धराशायी हुँदै गएको धारणा राख्नुभयो । उहाँले मौरी चरन व्यवस्थापनका लागि स्पष्ट र व्यवहारिक नीतिको आवश्यकता औंल्याउँदै मौरी अनुसन्धान तथा संरक्षणमा सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
तालीममा सहभागी मौरी व्यवसायीहरूले भने भारतीय महको कारण बजार खोसीएको गुनासो गरेका छन् । गुणस्तर परीक्षणबिनै बजारमा ल्याइएका आयातित महले गर्दा स्थानीय मह व्यवसायहरु धराशायी बन्दैगएको उनीहरुको दुखेसोे रहेको छ । गुणस्तर परीक्षणबिनै बजारमा ल्याइएका आयातित महका सम्बन्धमा सरकारले गुण नियन्त्रण प्रणालीलाई कडाइका साथ लागू गर्नुपर्ने आवाज तालिममा सहभागीहरुले उठाएका छन् ।
तालिम अवधिभर कर्णाली प्रदेश सरकारका पूर्व कृर्षि सचिव तथा हालका बुटक्याम्प विज्ञ टिकाराम थापा, मौरी विज्ञ माधव केसी, सगरमाथा इन्स्योरेन्सका प्रतिनिधि र लक्ष्मी सनराइज बैंकका विशेषज्ञहरूले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।
