खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको आग्रह : फेरि नसर्ने गरी दशौँ राष्ट्रिय खेलकुदको मिति तोक्नुस्

साउन २३, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारका कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने बताउनुभएको छ । साथै उहाँले अब प्रतियोगिताको मिति तोक्दा नसर्ने गरी तोक्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई आग्रह गर्नुभएको छ ।
दशौँ राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न बिहीबार सुर्खेत पुगेका मन्त्री चौधरीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोकेर प्रतियोगिता नहुँदा नकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । अब त्यस्तो गल्ती नदोहो¥याउन समेत सघीय सरकारलाई उहाँको आग्रह छ ।
‘कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फबाट हामी प्रतिबद्ध छौ । त्यही अनुसार तयारी पनि गरिरहेका छौ,’ छलफलमा बोल्दै मुख्यमन्त्री कँडेलले भने, ‘तर आयोजक तपाईंहरू हो, अब पनि मिति तोक्दै खेल नहुने हो भने अहिले नै विचार गरेर मिति तोक्नु होला ।’
मुख्यमन्त्री कँडेलले मिति तोक्दा संघीय र प्रदेशको जिममेवारी सहित स्पष्ट तालिका बनाउन समेत आग्रह गर्नुभयो । प्रतियोगिता आयोजना गर्ने नाममा यसअघि भएका कमजोरी दोहरिन नदिनेतर्फ अहिलेदेखि नै सचेत हुनुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद आयोजनाको सन्दर्भमा चासोसहित केहिदिन सरोकारवालालाई समेत निर्देशन दिएकोमा त्यसतर्फ ध्यान दिन खेलकुद मन्त्रीलाई उहाँले सुझाव दिनुभयो ।
फरक प्रसङ्गमा मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना गर्ने तर्फ प्रदेश सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएकोले प्रदेश खेलकुद परिषद्का रिक्त पदहरूमा नियुक्त गर्न छलफल शुरू भएको जानकारी दिनुभयो ।
रङ्गशाला लगायत बाँकी पूर्वाधार निर्माणका काम तत्कालै अघि बढाइने समेत मुख्यमन्त्री कँडेलले प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय खेलकुद प्रतियोगिताका सबै पूर्वाधार आयोजक संघीय सरकारले नै निर्माण गर्ने भए पनि दशौँ खेलकुदका अधिकांश खेलका लागि कर्णाली प्रदेश सरकारले पूर्वाधार निर्माण गरेको मुख्यमन्त्री कँडेलले बताउनुभयो ।
युवा तथा खेलकुदमन्त्री चौधरीले प्रतियोगिताका लागि अब मिति नसर्ने गरी तयारी भइरहेकोले त्यसमा ढुक्क हुन उहाँको आग्रह छ । सुर्खेत आसपास हुने गरी प्रतियोगिताका लागि २४ वटा खेलको लागि तयारी भएको जानकारी दिनुभयो । छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री राजीवविक्रम शाह, सामाजिकमन्त्री धनश्याम भण्डारी लगायतको उपस्थिति थियो ।