
३० साउन सुर्खेत, – कर्णाली प्रदेशका जाजरकोट, दैलेख र सुर्खेतका २ सय १३ जना युवालाई मौरी व्यवसाय सम्बन्धी तालिम दिइएको छ। नेपाल मौरीपालक महासंघ, कर्णाली प्रदेशले हेल्भेटास नेपालको इन इलम परियोजनाको सहयोगमा उक्त तालिम दिइएको हो। महासंघका संयोजक खगेन्द्र भण्डारीका अनुसार मौरी व्यवसायको सम्भावना उच्च रहेको कर्णालीमा यस तालिममार्फत मौरी विमा, उद्यमशिलता विकास र व्यवसायिक योजना निर्माणबारे सहभागीलाई व्यावहारिक ज्ञान प्रदान गरिएको छ। उहाँले ३ वटै जिल्लामा हाल रहेका १ हजार मौरी गोलाको बिमा गर्ने योजना समेत रहेको जानकारी दिनुभयो। तालिमले मौरी व्यवसायमा उत्पन्न हुने जोखीम कम गर्न र दीर्घकालीन संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
तालिमका क्रममा सहभागीहरूले मह उत्पादनमा लाग्ने लागत, बजारमा मूल्य निर्धारणको आधार, तथा प्रतिइकाइ लागत अनुसार वस्तुको मूल्य तोक्ने सीप सिकेका छन्। व्यवसायिक योजना निर्माणको अभ्यासमार्फत उनीहरूले आफ्नो मौरीपालनको वर्तमान स्थिति, भावी योजना, लगानी, प्रतिफल तथा नाफा–नोक्सानको विश्लेषण गर्ने क्षमता विकास गरेका छन्। तालिममा सहभागी वीरेन्द्रनगर–९ का सुरेन्द्र विसीले मौरी व्यवसाय गर्दै आए पनि दिगो योजना नभएकाले लाभ लिन नसकेको बताउनुभयो। “यो तालिमपछि अब योजनाबद्ध रूपमा मौरीपालन विस्तार गर्नेछु,” उहाँको भनाइ छ। यस्तै, सहभागी हिरा आचार्यले व्यवसाय सफल बनाउन योजनाबद्धता अनिवार्य हुने बताउँदै तालिम अत्यन्तै उपयोगी रहेको धारणा व्यक्त गर्नुभयो। महासंघका अनुसार यो तालिम मौरीपालक किसानलाई केवल सीप दिने मात्र नभई, बिमा सुविधा, क्षतिको दाबी प्रक्रिया, बजार व्यवस्थापन र मूल्य निर्धारणको आधारबारे स्पष्ट जानकारी दिने उद्देश्यले आयोजना गरिएको हो।
