जेन्जी युवा सन्तोष बोहराको उपचारमा कोरियाबाट दुई लाख बढीको आर्थिक सहयोग उपलब्ध

कृष्ण शर्मा ।

कात्तिक ९ , सुर्खेत  । दक्षिण कोरियामा रोजगार नेपाली युवाहरूले सुरु गरेको “जेन जेड सन्तोष बोहरा उपचार सहायता अभियान” मार्फत घाइते जेन्जी युवा सन्तोष बोहराको उपचारमा कोरियाबाट दुई लाखभन्दा बढी रुपैयाँको आर्थिक सहयोग प्रदान गरिएको छ। गत भदौ २३ र २४ गते देशभर भएको जेन्जी आन्दोलन मुख्य रूपमा सुसाशन, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचार तथा वेथितिविरुद्धको आवाज उठाउने अभियानको रूपमा भएको थियो। यसै आन्दोलनको क्रममा कर्णाली प्रदेश, सुर्खेतमा दोस्रो दिन अर्थात् २४ गते, प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बिरेन्द्रनगर–२ सुर्खेत निवासी २६ वर्षीय सन्तोष बोहरा हाल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ ।

देश र जनताको पक्षमा आवाज उठाउँदा दुबै आँखामा गोली लागी दृष्टि गुमाएका सन्तोषको टाउको र अनुहारमा पनि गम्भीर चोट लागेको परिवारले जनाएको छ। परिवारका अनुसार, एक्लो छोरा सन्तोषका श्रीमती निर्मला खड्का, बुबा चन्द्रबहादुर बोहरा, आमा र तीन वर्षीया छोरी छन्। श्रीमती र बुबा अहिले नेपालगञ्जमै उपचारमा खटिनुभएको छ । अभियानमार्फत कोरियन वन २२२३,८१० (करिब नेपाली रुपैयाँ २ लाख १९ हजार सात रुपैया संकलन गरी सन्तोषका बुबा चन्द्रबहादुर बोहराको आधिकारीक बैक खातामा रकम पठाईएको छ । रकम पठाइएको प्रमाणस्वरूपजापान रेमिट कोरियाको रेमिट्यान्स रसीद पनि सार्वजनिक गरिएको छ । अभियान सफल बनाउन ९२ जना सहयोगी युवाहरूले आर्थिक र भावनात्मक सहयोग जनाएका थिए। मुख्य अभियन्ताहरूमा महेश रेग्मी ,धर्मराज तिवारी, कलम कार्की, टरसिङ पुन, दुर्गा ढकाल, गोपाल बहादुर शाही, रितुराज रिजाल र विजय लामिछाने रहेका छन्।

यसबारे जानकारी दिदै अभियानका संयोजक दैलेखको भगवतिमाई गाउँपालिका वडा नम्बर ३ मेहेलतोलीका स्थाई बासिन्दा हाल कोरिया निवासि महेश रेग्मीले यो सहयोग केवल रकमको मात्र नभई, एक घाइते योद्धाप्रतिको सामूहिक माया र सहानुभूतिको प्रतीक रहेको बताउनु भयो । साथै उहाँले सहायता अभियानमा सहयोग पुर्याउने सबै सहयोगी मनहरूलाई धन्यवाद पनि दिनुभएको छ ।

सहयोग रकम प्राप्त गरेपछि सन्तोषकी श्रीमती निर्मला खड्काले सबै सहयोगीप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै भन्नुभयो “यो कठिन घडीमा तपाईंहरूले देखाउनुभएको माया, सहानुभूति र सहयोग हाम्रो परिवारका लागि अमूल्य छ ।” उहाँले विदेशमा रहेर पनि साथ दिनुभएको मत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

परिवारका अनुसार, सन्तोष बोहराको अवस्था अझै चुनौतीपूर्ण भए पनि चिकित्सकहरूको निगरानीमा उपचार अघि बढाइएको छ।
सहयोगी र शुभेच्छुकहरूलाई धन्यवाद दिंदै परिवारले सन्तोषको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।