
सुर्खेत, ६ मंसिर ।
सुर्खेतको वीरेन्द्रनगरमा किशोर–किशोरी तथा युवाहरूसँग सम्बन्धित सशक्तिकरण कार्यक्रमका उपलब्धि, चुनौती र आगामी कार्ययोजना समीक्षा गर्ने उद्देश्यले वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ ।
शुक्रबार बसेको बैठकमा चालु वर्षभर सञ्चालन भएका विभिन्न क्षमता अभिवृद्धि, व्यवसायीक सीप, सामाजिक सहभागिता तथा संरक्षणसम्बन्धी कार्यक्रमहरूका नतिजा प्रस्तुत गरिएको थियो ।
सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालले सञ्चालन गरेको पावर फर ए वाई परियोजना मार्फत संचालित गतिविधिहरूको समीक्षा गरिएको हो । परियोजना संयोजक अम्बिका सलामीले विभिन्न तालीम, सीप विकास, व्यवसायिक सहजीकरण र सहयोगले अपेक्षा अनुरूप सकारात्मक प्रभाव पारेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार किशोर–किशोरी र युवाहरूले प्राप्त गरेका सीप तथा सहयोगको आधारमा उद्यम सञ्चालन भएको, विपन्न विधार्थीले छात्रवृति प्राप्तगरी अध्ययनलाई निरन्तरता दिन सहयोग पुगेको तथा किशोर किशोरी मैत्री स्वास्थ्य सेवाबाट लावान्वित भएका छन् ।
कार्यक्रमका सहभागीहरूले बालबालिका, किशोर–किशोरी र युवाको जीवनस्तरमा प्रभाव पार्ने सामाजिक समस्या, जोखिम, अवसर र आगामी वर्षका प्राथमिकताबारे आ–आफ्ना सुझाव राखेका थिए । विशेषगरी व्यवसायिक मार्गदर्शन, व्यवहारिक सीप, उद्यमशीलता र जीवनपरिवर्तनकारी लक्ष्यमा आधारित कार्यक्रमलाई अझ प्रभावकारी बनाउन समन्वय तथा स्रोत परिचालन आवश्यक रहेकोमा जोड दिइएको थियो ।
उद्यम सुरु गर्न चाहने युवालाई व्यवसायिक मार्गदर्शन, सीप तालीम र प्रारम्भिक सहयोग वितरण गरिएको, केही युवाले कृषि, पशुपालन, साना व्यवसाय तथा सेवामूलक क्षेत्रमा उद्यम सुरु गरेको र निरन्तरताका लागि नगरपालिकाका कार्यक्रममा जोड्नुपर्ने सुझाव बैठकमा सहभागीहरुले राखेका थिए । परियोजना वीरेन्द्रनगरका वडा नं. ७, ९, १० र १२ मा लागू भएको छ ।
बैठकमा नगर प्रमुख मोहनमाया ढकालले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्दै निरन्तरताका लागि नगरपालिकाबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । नगरपालिकाले सञ्चालन गर्ने विभिन्न युवा लक्षित कार्यक्रमहरुमा आवद्ध गरेर व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने प्रमुख ढकालले बताउनुभयो ।
