मार्क वाटको शतकमा कर्णालीको जीत, लुम्बिनी ९ विकेटले पराजित

मंसिर ६, काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई हराएको छ । लुम्बिनीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२ ओभर २ बलमा १ विकेट गुमाएर भेटायो ।
कर्णालीका मार्क वाटले शतक बनाए । उनले ४४ बलमा अविजित १ सय १४ रन बनाए । यस्तै विलियम बोसिस्टोले अविजित २९ रन बनाए । लुम्बिनीका शेर मल्लले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले लुम्बिनीले ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४९ रुबेन ट्रम्पेलम्यानले अविजित २९ र जेजे स्मिथले २३ रन बनाए । कर्णालीका नन्दन यादवले २, कप्तान सोमपाल कामी, गुल्शन झा, मार्क वाट, बिपिन शर्मा, युवराज खत्रीले समान १ विकेट लिए ।
कर्णाली आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो ।
आजै दिउँसो साढे ३ बजेपछि काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीच खेल हुँदैछ । काठमाण्डुले आज तेस्रो खेल खेल्दैछ । उद्घाटन खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो ।
अर्को खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । त्यस्तै विराटनगरको आज दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा विराटनगरले पोखरालाई हराएको थियो ।
दोस्रो संस्करणको एनपीएल क्रिकेटमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमान्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी ८ वटा टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता यही २७ गतेसम्म चल्नेछ ।