
सुर्खेत, ८ मंसिर । भिएसओ ब्रिटिस काउन्सिलको साझेदारीमा यूके एडको सहयोगमा सञ्चालित जेम्स परियोजनाको कर्णाली प्रदेश–स्तरीय समापन तथा सिकाइ आदान–प्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रम सुर्खेतमा आसमान नेपालको आयोजनामा भएको हो ।
तीन वर्षदेखि सुर्खेत, बारा र रौतहटमा सञ्चालन भएको जेम्स परियोजनाले किशोरीहरूको अंग्रेजी सशक्तीकरण, डिजिटल सीप, जीवनोपयोगी सीप तथा नेतृत्व क्षमतामा उल्लेखनीय सुधार ल्याएको परियोजना सरोकारवालाहरूले बताएका छन ।
कार्यक्रममा परियोजनाका उपलब्धिहरू प्रस्तुत गर्दै सामुदायिक सिकाइ केन्द्र (सि एल सी) भित्र बनेका सिकाइ क्लबहरूलाई दीगो रूपमा सञ्चालन गर्न स्थानीय सरकारहरूले प्रतिबद्धता जनाएका छन ।
गुर्भाकोट नगरपालिका सुर्खेतका नगर प्रमुख हस्त बहादुर पुनले परियोजनाको सिकाइले अझै प्रभावकारी योजना बनाएर सिएलसी सँग काम गर्ने सोचमा रहेको बताउनुभयो । परियोजनाले सुरुवात गरेका कार्यक्रमलाई स्थानीय सरकारले आत्मसाथ गर्ने उहाँले प्रतिवद्धता पनि जनाउनुभयो । सामुदायिक सिकाई केन्द्रले शैक्षिक, सामुदायिक रुपान्तरण लगायत थुप्रै उद्देश्य र कार्यक्षेत्रमा काम गर्नुपर्ने बताउँदै नगर प्रमुख पुनले सीप विकास, सामुदायिक विकास, व्यावसायिक तालिम, परम्परागत सीपलाई पुस्तान्तरण लगायतका काम परिचालन गर्ने उहाँले बताउनुभयो ।
परियोजनाको सहयोगमा सिएलसीमा सञ्चालन भएका कार्यक्रमबाट किशोरीहरुमा पठन पाठनसँगै आत्मविश्वास बढाएको, नेतृत्व क्षमतामा विकास भएको तथा अतिरिक्त क्रियाकलापहरुमा उल्लेख प्रतिनिधित्व भएको उहाँले भनाइ थियो ।
विधालय शिक्षाले औपचारिक शिक्षामा बढी जोड दिएको भएतापनि अनौपचारिक शिक्षाबाट पनि धेरै कुरा सिक्न सकिने भएकाले सिएलसीलाई नगरपालिकाका अन्य शाखाका क्रियाकलापमासँग जोडेर लिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
लेकवेशी नगरपालिकाका उपप्रमुख विमला खड्लुक मगरले परियोजनाले सुरु गरेका सिकाइका कामहरुलाई अपन्त्व ग्रहण गरेर अगाडी बढाउने बताउनुभयो । आगामी दिनमा नगरपालिकाका कार्यक्रममा समावेश गरेर सक्दो बजेट विनियोजन गरेर निरन्तरता दिने उहाँले प्रतिवद्धता जनाउनुभएको हो । सिकाइ कक्षा सञ्चालन गरेका विद्यालयमा राम्रो नतिजा देखिएको बताउँदै उपप्रमुख मगरले आगामी दिनमा अन्य विद्यालयमा पनि कार्यक्रम लागू गर्ने विषयमा अध्ययन गर्ने बताउनुभएको छ ।
भेरीगंगा नगरपालिका सुर्खेतका उपप्रमुख धनसरा बोहोराले सामुदायिक सिकाइ केन्द्रका कार्यक्रम नेपाल सरकारकै कार्यक्रम भएकाले परियोजनाले अगाडी बढाएका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
विधालय बाहिर रहेका किशोर किशोरीलाई शिक्षा दिने र अन्यलाई पनि विभिन्न ज्ञान दिइएको छ बताउँदै उपप्रमुख बोहोराले सिकाई कक्षामा आवद्ध भएका विधार्थीहरु पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अगाडी रहेको जानकारी दिनुभयो । सिकाई केन्द्रले गरेका क्रियाकलापले पालिकाले लिएको समृद्धिको योजनामा सहयोग पुर्याइरहेकाले आगामी दिनमा कसरी अगाडी बढाउने भन्ने विषयमा कार्यपालिकामा छलफल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
प्रदेशस्तरीय सिकाइ आदानप्रदान कार्यक्रममा सिकाइ केन्द्रहरुले गरेका काम र आगामी योजना बारे जानकारी गराएका थिए । मेहेलकुना सामुदायिक सिकाइ केन्द्रका संयोजक नन्दा रेग्मीले अनौपचारिक शिक्षा तथा आजीवन सिकाइबारे वार्षिक कार्ययोजना निर्माण गरी काम गरिरहेको जानकारी दिनुभयो । यस्तै, पारिजात सिकाइ केन्द्रकी संयोजक लक्ष्मी राजवंशीले जीवनपर्यन्त सिकाइमा जोड दिएको बताउँदै परिवर्तीत समयाअनुकूल कार्ययोजना निर्माण गरेर काम गरिरहेको जानकारी दिनुभयो ।
जीवनस्तर सुधार गर्दै साक्षरता दर बढाउन अनौपचारिक शिक्षा तथा आजीवन सिकाइका लागि सामुदायिक सिकाइ केन्द्रको भूमिका महत्वपूर्ण हुने आसमान नेपालका कार्यक्रम व्यवस्थापक अस्मिता शर्माले बताउनुभयो । जेम्स परियोजना मार्फत गरिएका किशोरी सशक्तिकरण कार्यक्रममा प्रभावकारी रहेको उहाँले बताउनुभयो ।
आसमान नेपालकी कार्यक्रम संयोजक दुर्गा गाहा मगरले परियोजनाले किशोरीहरूमा अंग्रेजी, डिजिटल र सामाजिक सीप विकासमा उल्लेखनीय योगदान पुगेको जानकारी दिनुभयो ।
छलफलमा सहभागीहरुले सामुदायिक सिकाइ केन्द्र मार्फत बाल विवाह, लागुपदार्ध दूर्व्यसनी न्यूनीकरणका कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन ।
सन २०२२ देखि सुरु भएको परियोजनाले सिमान्तकृत किशोरीहरूको शिक्षा, स्वास्थ्य पहुँच, जीवनोपयोगी सीप, नेतृत्व तथा आत्मविश्वास विकासमा केन्द्रित भएर लैङ्गिक समानता प्रवर्द्धनका क्षेत्रमा काम गरेको हो ।
