
पुष १६,सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकको जंगल क्षेत्रमा एक युवक र एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
स्थानीयका अनुसार श्री भैरव सामुदायिक वन क्षेत्रभित्र रहेको जंगलमा अन्दाजी २०–२१ वर्ष उमेरका युवक र करिब १९–२० वर्ष उमेरकी युवती एउटै रूखको हाँगोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन्।
बुधबार बिहान स्थानीयले जंगल क्षेत्रमा शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको र घटनाको कारणबारे थप अनुसन्धानपछि मात्र यथार्थ विवरण सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो।
प्रहरीले घटनास्थल सुरक्षित राखी कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
