विशेष महाधिवेशनको विषयलाई लिएर कालिकोट कांग्रेसमा दुई धार

पुस २६,कालिकोट । नेपाली कांग्रेसको विशेष महाधिवेशनको विषयलाई लिएर कालिकोट जिल्ला कार्य समितिमा विवाद देखिएको छ । महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन बोलाएका छन् । ‎उक्त ‘विशेष महाधिवेशन’ मा सहभागी हुने वा नहुने भन्ने विषयमा जिल्ला सभापति र उपसभापतिले भिन्दाभिन्दै विज्ञप्ति जारी गरेका छन्।
‎जिल्ला सभापति अम्बरबहादुर शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधान अनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको बताएका छन् । उनले व्यक्तिगत रूपमा वा समूहले बोलाएको महाधिवेशन विधान विपरीत हुने भन्दै जिल्लाका कुनै पनि तहका पदाधिकारी, महासमिति सदस्य र प्रतिनिधिहरूलाई त्यस्ता गतिविधिमा संलग्न नहुन अपिल गरेका छन् ।
उनले आगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन समेत सबैलाई निर्देशन दिएका छन् । ‎तर जिल्ला उपसभापति मीनबहादुर बोगटीले भने अर्को पत्र जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई औपचारिक आह्वान गरेका छन् ।