
माघ ३, काठमाण्डौ । प्रतिनिधिसभा विघटनमा रहेको अवस्थामा माथिल्लो सभाका रूपमा रहेको राष्ट्रियसभाको हिउँदे अधिवेशन भोलिदेखि शुरू हुँदैछ । हिउँदे अधिवेशन सञ्चालनका लागि सङ्घीय सचिवालयले आवश्यक तयारी पूरा गरेको जनाएको छ ।
नयाँ बानेश्वरको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन नवयुवाको आन्दोलनका क्रममा जलेको हुँदा सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सबै तयारी पूरा भएको र आवधिक कार्यतालिकको क्यालेण्डर आज सार्वजनिक हुने बताउनुभयो ।
प्रवक्ता गिरीका अनुसार पहिलो बैठकमा अधिवेशन आह्वानको पत्र पढेर सुनाइने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव पारित गरिने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा भोलि बिहान ११ बजे राष्ट्रियसभाको अधिवेशन आव्हान गर्नुभएको थियो । गएको भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।
राष्ट्रिय सभामा आउँदो फागुन २० गतेदेखि १९ सदस्यको पद रिक्त हुँदैछ । त्यसका लागि यही माघ ११ गते चुनाव हुँदैछ । एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्ने व्यवस्था छ ।
