सिम्तामा एकीकृत स्वास्थ्य शिविर


सुर्खेत, १७ माघ ।
सुर्खेतको सिम्ता गाउँपालिकामा निशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
गाउँपालिकाको आयोजनामा शुक्रबादेखि राकममा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शनिबारदेखि भने आँखा जाँच तथा शल्यक्रिया शिविर पनि सुरु भएको छ । केयर सिटि अस्पताल नेपालगञ्जको सहयोगमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन भएको हो भने आँखा शिविरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेत, रुइत फाउण्डेशन र लक्ष्मि सनराइज बैंकको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ ।
एकीकृत स्वास्थ्य शिविर आइतबारसम्म सञ्चालन हुनेछ भने आँखा शिविर सोमबारसम्म सञ्चालन हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र पुनले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार केयर सिटि अस्पतालका चिकित्सकहरुले सेवा दिएकोमो शनिबार र आइतबार मेहेलकुना अस्पताल र सिम्ता आधारभूत अस्पतालका चिकित्सकहरुले शिविरलाई निरन्तरता दिएका छन् । शिविरबाट शुक्रबार मात्रै पाँच सय बढीले सेवा लिएको पुनले बताउनुभयो । शिविरमा भिडियो एक्सरे, प्रयोगशाला सेवा सहित महिला बालबालिका, रो सम्बन्धी विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिएको थियो ।
आँखा जाँच तथा मोति विन्द शल्यक्रिया शिविरमा पनि उत्साहपूर्वक सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।
सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले नागरिकलाई घर आगनमै विशेषज्ञ सेवा दिने उधेश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । विशेषज्ञ सेवा लिनका लागि आफ्ना नागरिकहरु टाढा टाढासम्म जानुपर्ने बाध्यताले कतिपयले रोग लुकाएर वस्ने गरेको भन्दै अध्यक्ष चन्दले नजिकै स्वास्थ्य शिविर सञ्चालन गरेर विशेषगरी विपन्न समुदायलाई सम्बोधन गर्न खोजिएको बताउनुभयो ।