दैलेखमा चक्कु प्रहारबाट १८ वर्षीय किशोरको मृत्यु


फागुन १, काठमाडौं । दैलेखको दुल्लु नगरपालिका–७ स्थित नगरपालिकाको कार्यालय नजिकै चक्कु प्रहारबाट एक किशोरको मृत्यु भएको छ । बिहीबार दिउँसो दुल्लु नगरपालिका–४ शान्तिबजार निवासी १८ वर्षीय प्रकाश खनालमाथि चक्कु प्रहार भएको हो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खनाललाई उपचारका लागि दुल्लु अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा दिउँसो करिब ३ः४० बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार खनालमाथि दुल्लु नगरपालिका–१० सातखम्बा निवासी करिब १७ वर्षीय एक किशोरले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका १९ वर्षीय विभूषण शाही र १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।