मिथ्या सूचना चिर्न सत्य समाचार प्रवाह गर्न आचार्यको आग्रह

फागुन ११- सुर्खेत ,नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचनाको भ्रम चिर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।

महासंघ केन्द्रीय कार्यालयले सुर्खेतमा आयोजना गरेको निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले निर्वाचन समाचारमा तटस्थता कायम राख्न, तथ्य र प्रमाणित विषय मात्र समाचार लेख्न तथा सत्य समाचार प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मतदान र मतगणनाको रिपोर्टिङका क्रममा पत्रकारको सहज पहुँच सुनिश्चित गर्न सरकारी निकायलाई पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले निर्वाचन आचारसंहिता पालना गर्दै सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिताका विषयमा वरिष्ठ उपाध्यक्ष आचार्य तथा कोषाध्यक्ष कृष्ण अधिकारीले सहजीकरण गर्नुभएको थियो ।