
फागुन १३ ,सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खारेज भएको छ।
नेपाली कम्युनिस्ट पार्टीले तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलसँग एकता गरेपछि जनार्दन शर्मा समूहमा लाग्नुभएका शर्मालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको जानकारी प्रदेशसभालाई गराएको थियो ।
उक्त निर्णयका आधारमा कर्णाली प्रदेशसभा सचिवालयले बुधबार सूचना जारी गर्दै उहाँ सांसद पदबाट मुक्त हुनुभएको औपचारिक जानकारी दिएको हो । सचिवालयका अनुसार राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा ९१०० बमोजिम शर्मालाई पार्टीबाट निष्कासन गरिएको पत्र प्रदेशसभामा दर्ता भएको थियो ।
राजनीतिक दल सम्बन्धी ऐनअनुसार जुन दलबाट निर्वाचित भएको हो, सोही दलले निष्कासन गरेको जानकारी प्रदेशसभामा विधिवत् रूपमा गराएपछि सम्बन्धित प्रदेशसभा सदस्यको पद स्वतः रिक्त हुने कानुनी व्यवस्था रहेको छ ।
