विद्यालय स्रोत व्यक्ति अन्यौलमा, स्थानीय तहमा समायोजन गर्न माग

सुर्खेत, २० साउन (जागरण) । सरकारले विद्यालय स्रोत व्यक्तिको जिम्मेवारीका विषयमा टुंगो नलगाउँदा कर्णालीका स्रोतव्यक्तिहरुले अलमलमा परेको गुनासो गरेका छन् ।
आज विद्यालय स्रोतव्यक्ति समाज कर्णाली प्रदेश समितिले प्रदेश सरकारसँग सम्मानजनक ढंगले आफुहरुको समायोजन स्थानीय तहमा हुनुपर्ने माग गरेका हुन् ।
समाजका कर्णाली प्रदेश अध्यक्ष कृष्णप्रसाद भट्टाराइको नेतृत्वमा रहेको टोलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग भेट गरी यस्तो माग गरेका हुन् ।
संघीय मामिला मन्त्रालयले स्रोत व्यक्तिको आवश्यकता नभएको भनेपनि शिक्षा विभागले भने स्रोत व्यक्ति विना काम गर्न नसकिने बताएकाले आफूहरू अन्योलमा परेको उनीहरुको गुनासो छ ।
उनीहरुले अहिले काम गरिरहेको जिम्मेवारी र हैसियतमा स्रोत व्यक्तिलाई स्थानीय तहमा समायोजन गरिनुपर्ने माग गरेका छन् ।
भेटमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्रोत व्यक्तिहरूको योगदानको कदर गर्दै उचित जिम्मेवारी दिने बताउनुभएको छ ।