जाजरकोट पहिरो अपडेटः मृतकको संख्या सात पुग्यो, दुई जना बेपत्ता

जाजरकोट, २० साउन (जागरण) । जाजरकोट सदरमुकाम खलंगामा अाज बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । पहिरोले पुरेका सातजनाको शव बाहिर निकालिएको छ । दुईजना अझैं बेपत्ता छन् भने एकजनाको जीवितै उद्धार गरिएको जाजरकोट प्रहरीले जनाएको छ ।
भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको हो । मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितला लुहार, उहाँका छोरीहरु ९ वर्षीया भावना, ६ वर्षीया रञ्जना , ३ वर्षीया मनिसा रहेकी छन् ।
यस्तै, १३ वर्षीय नरेन्द्र परियार र ११ वर्षीय नवीन परियार रहेका छन् । उनीहरुको शव पहिरोले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको प्रहरीले जनाएको छ ।
उनीहरु सबै भेरी–३ खलंगा ठाँटी स्थित तीर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए। त्यस्तै घरमुली तीर्थराज बोहराकी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ ।
जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ । छाती, टाउको र खुट्टामा चोट लागेका खड्गबहादुरको अवस्था गम्भीर रहेको बताइएको छ ।
सोही ठाउँमा गोपाल सुनारको घर पहिरोले परिँदा त्यहाँ चार जना बालबालिका अझै हराइरहेका छन् । ती बालबालिकालाई घर सँगै पहिरोले पुरेको अनुमान प्रहरीको छ ।
प्रहरीका अनुसार हराइरहेकामा नलगाड–१ डाँडागाउका ८ वर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार रहेका छन् ।
हाल प्रहरी, सेना र स्थानीय उद्धारमा जुटिरहेका छन् । पुरिएको घर पन्छाएर पुरिएकाहरुको खोजी कार्य भइरहेको छ ।
पानी परिरहेको अप्ठेरो ठाउँ भएको र पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको उद्धार खटिनुभएका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक इन्दजित सुनारले बताउनुभयो ।
बिहान ८ बजे घटना भए लगत्तै प्रहरी घटनास्थलमा खटिएको थियो । पहिरोले गोपाल सुनारको घरका पूर्णरुपमा पुरेकाले उद्धारमा समस्या भएको उहाँको भनाई छ ।