एशियाली छनोटमा नेपालको फेरी पनि बराबरी

काठमाण्डौँ, २५ कात्तिक (जागरण) । ओलम्पिकका लागि महिला फुटबलको एसियाली छनोटको पहिलो चरण अन्तर्गत नेपालले लगातार दोस्रो बराबरी खेलेको छ ।
समूह सी मा रहेको नेपालले पहिलो खेलमा भारतसँग एक एक गोलको बराबरी खेलेको थियो । आइतबारको खेलमा पनि नेपालले आयोजक म्यानमारसँग एक एक गोलको बराबरी खेलेको हो ।
बराबरीपछि पनि नेपालको दोस्रो चरण प्रवेशको सम्भावना सकिएको छैन । समूहको विजेता र उपविजेतासँगै पहिलो चरणका चारमध्ये उत्कृष्ट तेस्रो हुने दुई टोली दोस्रो चरणका लागि छानिनेछन् ।
समूहको अन्तिम खेलमा नेपालले बंगलादेशसँग र म्यानमारले भारतसँग प्रतिस्पर्धा गर्नेछ । अर्को चरणमा पुग्न नेपालले बंगलादेशविरुद्धको खेल जित्नैपर्ने हुन्छ भने भारत र म्यानमारबीचको खेलमा स्पष्ट नतिजा निस्कनुपर्ने हुन्छ ।
यही समूहबाट बंगलादेश भने लगातार दोस्रो खेलमा पराजित हुँदै बाहिरिएको छ । पहिलो खेलमा म्यानमारसँग पराजित भएको बंगलादेश आइतबारै भएको दोस्रो खेलमा भारतसँग ७–१ गोलले निराश बन्यो ।