सुर्खेत, ६ मंसिर (जागरण) । सुर्खेतको चिङ्गाड गाउँपालिका वडानम्वर ३ र ४ मा पाँच दिने वृहत् साँस्कृतिक तथा खेलकुद मेला २०७५ हुने भएको छ ।
भोलीदेखि शुरु हुने मेला मंसिर ११ गतेसम्म हुने भएको हो । प्रत्येक मंसिर पूर्णिमाको दिन लाग्ने ठाँटी मेलालाई उद्योग वाणिज्य संघ चिङ्गाडले व्यवस्थापन गरी पाँच दिन सञ्चालन गर्ने भएको हो ।
पहिलो दिन अनौपचारिक रुपमा परम्परागत रुपमा मेला लाग्ने र दोश्रो दिनदेखि साँस्कृतिक तथा खेलकुदका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

मेलामा साँस्कृतिक कार्यक्रमअन्तर्गत दोहोरी गीत प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिइने साँस्कृतिक संयोजक महेश जि.सी.ले बताउनुभयो ।
यस्तै विद्यालयस्तरिय लोक नृत्य प्रतियोगिताको प्रथमलाई पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार दिइने छ ।
यता खेलकुदअन्तर्गत पुरुष भलिवलमा प्रथम हुनेलाई ६० हजार, द्वितिय हुनेलाई ३५ हजार र तृतिय हुनेलाई २० हजार रुपैयाँ पुरस्कार दिइने खेल संयोजक कृष्ण शर्माले बताउनुभयो ।
शर्माकाअनुसार महिला भलिवलमा प्रथम हुनेलाई २५ हजार, द्वितिय हुनेलाई १५ हजार र तृतिय हुनेलाई १० हजार रुपैयाँ पुरस्कार दिइने छ । आयोजक समितिका सदस्य अमरबहादुर चन्दले मेलामा पञ्चेबाजा, मयुर नाँच, सिंगारु, डेउडा, हुड्के, पैँसेरी लगायत चिङ्गाड क्षेत्रमा प्रचलित लोपउन्मुख साँस्कृतिक झाँकीहरुको अवलोकन समेत गर्न सकिने बताउनुभयो ।
यस्तै राष्ट्रियस्तरका चर्चित कलाकारहरुको साथमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुर्खेतका कलाकारहरुको प्रस्तुतिसमेत हुनेछ ।
यस्तै सुर्खेत, दैलेख र जाजरकोटको सिमानामा पर्ने अग्लो मालिका चुचुरो, बुरुसे झरना, घन्घने गुफा, चमेरे गुफा, देउति वज्यै मन्दिर र भैरवबाबा मन्दिरलगायतको अवलोकनसमेत गर्न सकिन्छ ।
मेलामा करिव १२ लाख रुपैयाँको खर्च अनुमान गरिएको मेला व्यवस्थापन मूल समितिका संयोजक डोर प्रसाद शर्माले जानकारी दिनुभएको छ ।
मेला स्थलबाट जागरण एफ. एम. सुर्खेतले प्रत्येक्ष प्रशारण गर्ने छ ।