सम्वोधनः जनताका सपनाहरु पूरा गर्नेमा शंका नगर्नुहोलाः प्रधानमन्त्री

मुगु, १ वैशाख (जागरण) । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बनाउने र जनताका सपनाहरु पूरा गर्नेमा आशंका नगर्न अपिल गर्नुभएको छ ।
दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिलोपटक मुगुको राराबाट आज बिहान देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूले निष्ठाका साथ काम गर्ने प्रतिबद्धता पनि दोर्होयाउनुभएको छ । जनताका चाहानालाई कुनै पनि हालतमा विफल हुन नदिने उहाँले संकल्प गर्नुभयो ।
प्रधानमन्त्री ओलीले कर्णालीलगायतका दुर्गम प्रदेशका जनतालाई विकासको औसत राष्ट्रिय स्तरसम्म पु¥याउन राज्यबाट विशेष कार्यक्रम लागु गरिने पनि उद्घोष गर्नुभयो । उहाँले सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउन सरकार गम्भीर भएर लाग्ने बताउनुभयो ।
भ्रष्ट्राचारले समाजलाई वर्बाद बनाउने उहाँको भनाई छ । उहाँले भ्रष्टाचारलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भन्दै ऐनकानुनमा सुधार ल्याउने घोषणा गर्नुभयो ।
प्रधानमन्त्री ओलीले बालबालिका र जेष्ठ नागरिकलाई सरकारले निशुल्क स्वास्थ्य सेवा दिइने पनि बताउनु भयो । उहाँले दुइतिहाइ जनताको जिउने आधार कृषि रहेको भन्दै अब कृषिमा आधुनिकीकरण गर्ने पनि बताउनुभयो ।