ताप्लेजुङ्ग, १५ फागुन (जागरण) । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी भएको छ ।
दुघर्टनाग्रस्त हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुब भोछिभोया तथा उप-महानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ तथा अर्जुन घिमिरेको मृत्यु भएको छ ।
दुर्घटनामा एयर डाइनेस्टीका पाइलट प्रभाकर केसीको पनि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएकाे जानकारीअनुसार घटनास्थलमा ५ वटा शव भेटिएको छ ।
पाथिभराबाट तेह्रथुममा रहेकाे चुहानडाँडा विमानस्थलकाे अवलाेकनका लागि उडेको हेलिकप्टर पाथिभरा नजिकै तारेभिरमा दुघर्टना भएको हो ।
एएमआई अल्फा माइक इन्डिया कल साइनको दुघर्टनाग्रस्त हेलिकप्टर आज बिहान साढे ८ बजे काठमाडौँबाट ताप्लेजुङ गएको थियो । दुर्घटनास्थलमा पुगेका सुरक्षा अधिकारीहरुले हेलिकप्टरको दुई वटा पङ्खा मात्र बाँकी रहेको र अन्य भाग जलेर नष्ट भएको बताएका छन् ।