सुर्खेत, ४ चैत । अमरज्योति नमूना माध्यामिक विद्यालय वीरेन्द्रनगर १२ नेवारे सुर्खेतमा विभिन्न तीन विषयमा व्यवसायिक सीपमूलक तालिम सुरु भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटिइभिटी) को अनुदानमा डकर्मी, होटल असिस्टेण्ट र मोन्टेश्वरी तालिमको मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । तालिमको उद्घाटनपछि बोल्दै पूर्व मन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कंडेलले विद्यालय स्तरबाटै सीपमूलक तथा व्यवसायिक शिक्षा लागू गर्नुपर्नेमा जोड दिए । कंडेलले मूलुकमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको बताउँदै अब अवस्था वदल्नका लागि सीप सिकी विना हिच्किचावट काम गर्नुपर्ने बताए । सिटिइभिटी कर्णाली प्रदेश कार्यालयका प्रमुख भीमकान्त लामिछानेले सीप हात भएमा रोजगार भइने बताउँदै सीप सिकी रोजगार बन्न तालिममा सहभागीहरुलाई शुभकामना दिए । शिक्षा मानव जीवनमा नभइनहुने ढोका र त्यसमा पनि प्राविधिक शिक्षा जीवनको मूल ढोका भएको प्रमुख लामिछानेको भनाइ रहेको छ ।
वीरेन्द्रनगर १२ का वडा अध्यक्ष लोकप्रसाद चालिसेले तालिम उद्घाटका क्रममा शुभकामना दिँदै तालिमले बेरोजगारी समस्या निराकरण हुने विश्वास व्यक्त गरे । उनले तालिम लिएका व्यक्तिहरुलाई रोजगारी सिर्जना गर्न र व्यवसाय सञ्चालन गर्नका लागि नगरपालिका मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यले कर्णाली प्रदेशकै प्राविधिक विद्यालयको महाविद्यालयका रुपमा अमरज्योतिलाई विकास गर्ने लक्ष्य रहेको बताए । उनले तालिमबाट सीप सिकी रोजगार तथा व्यवसायी बन्न शुभकामना दिए ।
प्राधानाध्यापक खगेन्द्र थापाले तालिममा तीन वटा विषयमा गरी ८० जना सहभागी रहेको बताए । उनका अनुसार छोटो अवधिको तालिम भएकाले तीन सय ९० घण्टासम्म सञ्चालन हुनेछ । तालिमपश्चात तह एक को प्रमाणपत्रका लागि परीक्षा लिइने र उत्तीर्ण हुनेले प्रमाणपत्र पाउने प्र.अ.थापाले जनाए । विद्यालयका शिक्षक भूपेन्द्र वि.सीले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा विद्यालयका सल्लाहकार वेदप्रसाद ढकाल, हस्तवीर प्राथमिक विद्यालयका अध्यक्ष पूर्ण पौडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।