कर्णालीको बजेटमा सत्तापक्षकै असन्तुष्टी, संसद् बैठक स्थगित (अडियो सहित)

सुर्खेत, ५ असार (जागरण) । कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेटमा सत्तापक्षकै सांसदहरुले असन्तुष्टि जनाएपछि बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाद्वारा असार १ गते संसदमा प्रस्तुत बजेटमाथि आज छलफलका लागि संसद बैठक बोलाइएको थियो । तर छलफलमा सत्तापक्षका सांसदहरुले विरोध गर्ने संकेत पाएपछि बैठक नै स्थगित गरिएको हो ।
असन्तुष्ट सांसदहरुलाई सहमतिमा ल्याउन र बैठक सञ्चालन गर्नका लागि आज नै कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बोलाइएको थियो । तर सहमति जट्न नसकेपछि असार ८ गते सम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।


प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बजेटको विषयमा थप छलफल गर्ने भन्दै सरकारले बैठक स्थगित गर्न आग्रह गरेपछि स्थगित गरिएको जानकारी दिनुभयो ।
प्रदेश सभा सदस्य तथा सत्तारुढ दल नेकपाका नेता ठम्मर बिष्टले बजेट वितरणमुखि र असन्तुलित भएकाले बस्तुगत र वैज्ञानिक हुनुपर्ने बताउनुभयो । प्रदेश सरकारले ल्याएको बजेट जनतामुखि भन्दा पनि सरकार केन्द्रित भएको उहाँको भनाई छ ।

सुन्नुहोस् विष्टको भनाईः 

बजेट जनतामा आधारित र निर्वाचन क्षेत्रमा आधारित र ठिक ढंगले कार्यान्वयन गरिने गरी ल्याइनुपर्ने भन्दै सरकारसँग आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब २५ करोड ३४ लाख २५ हजार बराबरको बजेट ल्याएको थियो । प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरुले भने बिनाकारण संसद बैठक स्थगित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
कांग्रेसका नेता तथा साँसद् हिमबहादुर शाहीले सत्ता पक्षबाट संसद् स्थगित गर्नु सरकारपक्षको उदासिनता भएको दावी गर्नुभयो ।
सुन्नुहोस् शाहीको भनाईः