अपडेटः कालिकोटमा सुख्खा पहिरोमा परि ८ जनाको मृत्यु

कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर १ मा पहिरो जाँदा आठ जनाको मृत्यु भएको छ ।
नगरपालिकाको नाग्म बजारमा आज बिहान सुख्खा पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो । भने २ जनाको सकुशल उद्धार गरिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले कर्णाली रैबारलाई बताउनुभयो ।
उहाँका अनुसार बिहान डाँडाको ढिस्को फुटेर आएको सुख्खा पहिरोले ४ घर समेत पुरेको छ ।
घटनामा परी मृत्यु हुनेमा शुभकालिका गाउँपालिका वडा नं. ५ बस्ने ४ वर्षका निराजन शाही, सोही गाउँपालिका वडा नं. सातका ४० वर्षीय प्रयाग शाही, उहाँकी ८ वर्षीया छोरी हिमा शाही र उहाँकै दुई महिनाका छोरा अक्कल शाही रहेको प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।
यस्तै, तिलागुफाका स्थानीय मोहनबिर कटुवाल, टेक बहादुर दमाई, छोइनो दमाई, गजेन्द्र दमाई रहेको उहाले जानकारी दिनुभयो ।
सुख्खा पहिरोमा परेर पाँच घर पुरिँदा कतीजना बेपत्ता भएका छन् एकिन विवरण नआएको जनाइएको छ । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।
यस्तै, पहिरोका कारण भएको मानविय क्षतीप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शहीले दुख व्यक्त गर्नुभएको छ ।
आज एक शोक वक्तव्य जारी गर्दै उहाले घटनामा मृत्यु भएका प्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ ।
साथै मुख्यमन्त्री शाहीले उद्धारमा लाग्न जिल्ला स्थित सुरक्षा नीकायलाई आग्रह गर्दै जोखिमयुक्त ठाउँबाट नागरिकहरुलाई सुरक्षित ठाउँमा स्तानान्तरण गर्न भन्नुभएको छ ।