कारागारमा झाडापखालाको प्रकोप

जाजरकोट, १८ असार (जागरण) । जाजरकोट कारागारका कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मी झाडापखालाका कारण बिरामी परेका छन् । प्रदुषित पानी सेवन गरेका कारण झाडापखाला सुरु भएको चिकित्सकले बताएका छन् ।
दुईदिन देखि भएको झाडापखालाको प्रकोपबाट अहिलेसम्म ७ जना सुरक्षाकर्मी, १२ जना कैदीवन्दी र अन्य कर्मचारीलाई समेत झाडापखालाले सताएको जेलर तेजविक्रम शाहले बताउनु भएको छ ।
यता जाजरकोट अस्पतालमा पखालका बिरामी दैनिक ४० भन्दा बढी अस्पताल पुग्दा उपचार गर्ने ठाउँको अभाव भएको छ । सदरमुकाममा रहेको बृहत खानेपानी सञ्चालनमा आएपछि पखालाका बिरामी बढेको स्थानिय नागरिकले बताएका छन् ।
पानीको परिक्षण गर्नका लागि आफूहरुले नमूना लिइसकेको र ७२ घण्टापछि नमुना परीक्षण कार्य सम्पन्न हुने डाक्टर केशर कार्कीले बताउनु भएको छ ।
अहिले प्रारम्भक चरणको परीक्षणले पानी फोहोर भएको देखिएको उहाँले बताउनु भयो । बृहत खानेपानी आयोजना र पुरानो आयोजनाको अलग अलग जाँच भइरहेको छ ।
बिरामीको चाप बढेका कारण उपचार गर्ने ठाउँकै अभाव रहेको डाक्टर कार्कीले बताउनु भयो । बिरामीको संख्या दैनिक यसरी बढ्ने हो भने ५ दिनसम्मलाई मात्र पुग्ने औषधि रहेको फार्मेसी शाखाले जनाएको छ ।