राष्ट्रिय एकल लोक नृत्य प्रतियोगिताको लागि कर्णाली छनोट असार २८ मा

सुर्खेत, २० असार (जागरण) । राष्ट्रियस्तरको एकल लोक नृत्य प्रतियोगिताको कर्णाली प्रदेशस्तरिय छनोट असार २८ गते गरिने भएको छ ।
साँस्कृतिक संस्थान नाँचघरको समन्वयमा कल्याण सेरचन स्मृति प्रतिष्ठान कास्कीको आयोजनामा पोखरामा हुन लागेको एकल लोक नृत्य प्रतियोगिताको लागि सात वटै प्रदेशमा छनोट गर्न लागिएको हो ।
कर्णाली प्रदेशका १० वटै जिल्लाबाट सहभागि हुन पाइने छनोट प्रतियोगिताको कर्णाली प्रदेशमा व्यवस्थापकको रुपमा वागीना समूह र राज डान्स ट्रेनिङ्ग सेन्टरले जिम्मेवारी पाएका छन् ।

प्रदेशबाट छनोट भइसकेपछि राष्ट्रिय प्रतियोगितामा सहभागि हुन पोखरा जानुपर्ने र त्यहाँ विजेता बनेमा एक लाख रुपैयाँ पुरस्कार तथा करार कर्मचारीको रुपमा साँस्कृतिक संस्थामा जागिरको व्यवस्था रहेको वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीले जानकारी दिनुभयो । पोखरामा साउन १२ गते प्रतियोगिता हुँदैछ ।
प्रतियोगितामा सहभागि हुनपूर्व एउटा फारम भर्नुपर्ने र त्यसको शुल्क पाँच सय रुपैयाँमात्रै राखिएको कर्णाली प्रदेशको कार्यक्रमका संयोजक खिमराज बस्यालले बताउनुभयो ।