नीजि विद्यालयमा छोराछोरी पढाउन नपाइने निर्णयको अवज्ञाः तिनजना शिक्षकलाई जरिवाना

भिम बहादुर सिजापती ।
दैलेख, ९ भदौ (जागरण) । नीजि विद्यालयमा आफ्ना छोराछोरी पढाएको भन्दै गुराँस गाउँपालिकाले तिन जना शिक्षकलाई कारबाही गरेको छ ।
गुराँस गाउँपालिकाको वडा नं. ५ मा रहेको कृष्ण माध्यमिक विद्यालयका ३ जना शिक्षकलाई कारवाही गर्दै जनही १० हजार जरिवाना गरेको हो ।
गाउँपालिकाको २०७५ चैत्र २५ गते निर्णय गर्दै गाउँपालिका भित्रका सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने बाध्यकारी निर्णय गरेको थियो ।
उक्त निर्णयमा गाउँपालिका भित्रका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुले आफ्ना छोराछोरी नीजि विद्यालयमा पढाउन नपाइने यदी त्यसो गरेको पाइएमा १० हजार जरिवाना गर्ने उल्लेख छ ।
उक्त निर्णयको पालना नगरेको भन्दै को निर्णय अनुसार उनीहरुलाई कारवाही गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
विद्यालयमा कार्यरत शिक्षकहरु पदमवहादुर नेपाली, रोशनी मल्ल र कमला कुमारी चन्दले आफ्ना छोराछोरी नीजि विद्यालयमा पढाएको भन्दै १० हजार जरिवाना स्वरुप गाउँपालिकाको खातामा जम्मा गर्न भनिएको छ ।
विद्यालयलाई एक पत्र लेख्दै गाउँपालिकाको खातामा जनही १० हजारका दरले रकम दाखिला गर्न अनुरोध गरिएको पत्र प्राप्त भएको प्रधानाध्यापक सुरेन्द्रकुमार चन्दले जानकारी दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले कार्यपालिका वैठकले निर्णय गरी प्रत्येक सामुदायिक विद्यालयलाई जानकारीका लागि पत्र पठाएको भए पनि कृष्ण माध्यामिक विद्यालयका तिन जना शिक्षकहरुले अटेर गरेकाले जरिवाना तोकिएको बताउनुभयो ।
छोराछोरी नीजि विधालयमा पढाएकोले जरिवाना तोकिएका शिक्षक पदम नेपालीले गाउँपालिकाको निर्णय नमान्ने प्रतिक्रिया दिनुभएको छ ।