भेरी नदीको पानी ल्याउने प्रक्रिया सुरु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको सहज आपूर्ति गर्न भेरी नदीको पानी ल्याउने प्रक्रिया सुरु भएको छ ।
करिब ६ अर्ब रुपैयाँको लगानीमा भेरी लिफ्टिङ खानेपानी आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाइएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
वीरेन्द्रनगरमा आगामी ३० वर्षको अवधिमा वृद्धि हुनसक्ने जनसंख्यालाई अनुमान गरी खानेपानीको दीर्घकालीन रूपमा सहज आपूर्ति गर्ने लक्ष्यका साथ यो आयोजना निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
वीरेन्द्रनगरका मेयर मोहनमाया ढकालका अनुसार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माथि विज्ञहरूबाट पुनः परामर्श लिने पक्रिया सकिएको छ ।
दुई खण्डमा गरी ६ अर्ब रुपैयाँ लागतमा सम्पन्न हुने यस आयोजनाको यसअघि नै तयार भइसकेको डीपीआरमाथि ‘रिभ्यु’ गर्न विभागले थप गरेको समयावधी समाप्त भएसँगै आयोजना कार्यान्वयन चरणमा अगाडि बढेको हो ।
जसका लागि बजेटको सुनिश्चिततासमेत भइसकेको छ । संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा आर्थिक वर्ष २०७९÷८० देखि संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलरलागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याइने छ ।
संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार, सम्बन्धित स्थानीय तहले २० प्रतिशत लगानी जुटाउनुपर्ने हुन्छ ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले अहिलेको संरचनाले नगरमा पानीको माग पूरा गर्न नसकिने भन्दै आयोजना निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।