नयाँ मन्त्रीहरुले लिए सपथ

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज मङ्गलवार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीलाई शपथ गराउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गरी कार्य विभाजन गर्नुभएको हो ।
नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा मन्त्री नियुक्त भएकाहरूले शपथ लिनुभएको हो ।
एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, हरि उप्रेती रक्षा, पदम गिरी स्वास्थ्य, भगवती चौधरी महिला बालबालिका तथा समाज कल्याण, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास मन्त्री बन्नुभएको छ ।
माओवादीबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री बन्नुभएको छ ।
राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान एवम् ऊर्जा जलस्रोत तथा सिँचाइ, धुव्रबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपक सिंह ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बन्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षा, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा र डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्नुभएको छ ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सर्वोच्च अदालतका कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अङ्गका प्रमुखलगायतको उपस्थिति थियो ।

गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
त्यही दिन नै उपप्रधानमन्त्री एवम् अर्थ मन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । जनमत पार्टीका अब्दुल खानले पनि त्यही दिन मन्त्री पदको शपथ लिनुभएको थियो ।