सुर्खेतमा फोर्सगाडीले पैदलयात्रीलाई ठक्कर दिएर मृत्युपछि फरार रहेका चालक पक्राउ

पुष १५, सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार रहेका फोर्स गाडीका चालकलाई प्रहरीले पक्राउ गरेको छ।गत शनिबार बिहान वीरेन्द्रनगरस्थित टेम्पो पार्क नजिकै पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका लु २ ख ५७८३ नम्बरको फोर्स गाडीका चालक डिल्लीराज कंडेललाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित पुष्पलाल चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

यसअघि आइतबार प्रहरीले सोही घटनामा संलग्न फोर्स गाडी र गाडीधनी सुर्खेतको सिम्ता गाउँपालिका – ६ का ३४ वर्षीय लोकबहादुर विसीलाई पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ।

उक्त गाडीको ठक्करबाट घाइते भएका पैदलयात्री दैलेखको डुंगेश्वर गाउँपालिका–५ निवासी ४३ वर्षीय जंगबहादुर बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो।