
फागुन २८ सुर्खेत ।इनिसा विक हत्या प्रकरणको निष्पक्ष छानबिन गर्न नागरिक समाज तथा बालअधिकार क्षेत्रमा काम गर्ने संस्थाहरूले माग गरेका छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ स्थित जनजागरण सामुदायिक वनमा मृत भेटिएकी १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक समाज तथा बालअधिकार क्षेत्रमा काम गर्ने संस्थाहरूले माग गरेका हुन ।
बाल अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्। विज्ञप्तिमा इनिसा विक, जो गुर्भाकोट नगरपालिका–६ बडाखोलीकी बासिन्दा तथा हाल सुर्खेतको एक बोर्डिङ स्कुलमा अध्ययनरत थिइन्, उनको बलात्कारपछि हत्या भएको समाचारले समग्र समाजलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ।
यस्तै, कञ्चनपुरमा १२ वर्षीया बालिका बलात्कारको घटनासम्बन्धी समाचार तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका अन्य बालबालिकासम्बन्धी आपराधिक घटनाले कर्णाली प्रदेशमा बालअधिकारको अवस्था चिन्ताजनक रहेको नागरिक समाजले जनाएको छ। मृतक बालिकाको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
विज्ञप्तिमा नेपाल प्रहरीले स्वतन्त्र, निष्पक्ष र सूक्ष्म अनुसन्धान गरी घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्नुपर्ने माग गरिएको छ। साथै दोषीमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार बालिकाको जन्मदर घट्दो अवस्थामा रहेकाले उनीहरू विभिन्न जघन्य अपराधका कारण मृत्युको शिकार हुने अवस्था अन्त्य गर्न सबै सरोकारवाला जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। बालबालिकाको सुरक्षा र संरक्षण राज्यको दायित्व भएको भन्दै बालबालिका सम्बन्धी ऐन २०७५ र नियमावली २०७८ ले समेत सबै तहका सरकारलाई जिम्मेवार बनाएको स्मरण गराइएको छ।
विज्ञप्तिमा बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार तथा शोषण रोक्न राज्यका निकाय, समुदाय र नागरिक समाजले थप जिम्मेवार र संवेदनशील भएर काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
उक्त विज्ञप्तिमा बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका अध्यक्ष टीकाराम आचार्य, समाज जागरण केन्द्र ९साजक० नेपाल सुर्खेतकी अध्यक्ष मिना कुमारी तिवारी, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान कर्णाली प्रदेशका अध्यक्ष तेज सुनाम, बाल विवाह विरुद्ध साझा अभियान कर्णाली प्रदेशका सचिव टेकराज आचार्य, आशा सञ्जाल सुर्खेतकी अध्यक्ष गीता बोहोरा तथा प्रदेश बाल क्लब सञ्जालकी अध्यक्ष समीक्षा चौधरी लगायतले हस्ताक्षर गरेका छन्।

