सुर्खेत, १७ कात्तिक (जागरण) । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले श्रम सहकारी मार्फत टोलका काम गराउन थालेको छ । गाउँपालिका भित्रका सडक निर्माण, मर्मत, खानेपानी, भवन लगायत साना आयोजनाहरु उपभोक्ता समितिको विकल्पमा श्रम सहकारी मार्फत गराउन थालेको हो ।
उपभोक्ता समितिबाट काम गराउदा कामको गुणस्तर पनि नआउने र रकम हिनामिना हुने निश्कर्षसहित श्रम सहकारी मार्फत काम गराउन थालिएको हो ।
उपभोक्ता समितिको विकल्पका रूपमा श्रम सहकारीमार्फत विकास निर्माणको काम गराइरहेको सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले कर्णाली रैबारलाई बताउनुभयो ।
उहाँले सबै काम अब श्रम सहकारीमार्फत हुने बताउदै काम गरेवापत आउने रकमलाई सहकारीको बचतको रुपमा राखिने बताउनुभयो ।
अध्यक्ष पुनका अनुसार संघीय सरकारले बनाएको सार्वजनिक खरिद ऐनअनुरूप नियमावली बनाएर श्रम सहकारीमार्फत काम गराउने गरि कानुन निर्माण गरि कार्यान्वयनमा ल्याइएको हो ।
यस्तै, रुकुम पश्चिमको पर्यटकीय गन्तव्य स्यार्पु ताल ३ सडक सञ्जालमा जोडिएको छ । बाँफिकोट गाउँपालिका ३ र वडा ५ मा फैलिएको ताल पुग्न त्यही गाउँपालिकाको छिप्राखोलाबाट सडक जोडिएको हो ।
तीन स्थानबाट सडक जोडिएपछि स्यार्पु पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा छ । करिब ४ वर्षअघि निर्माण थालिएको छिप्राखोला–स्यार्पु सडकमा दसैंलगत्तै गाडी गुड्न थालेका छन् ।