सल्यानका कृषक जडीबुटी खेतीतर्फ आकर्षित

बुद्धीमान पुन
सल्यान, १८ कात्तिक (रेडियो राप्ती) । सल्यानका कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत रुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि अन्नबाली मासेर जडीबुटी खेती गर्न थालेका हुन् ।
टिमुर, रिठ्ठा, तेजपात लगायतका जडीबुटीका लागि त्यहाँको हावापानी अनकूल भएकाले यसको खेती प्रति कृषकहरुको आकृर्षण बढ्दै गएको छ ।
प्राकृतिक रुपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जन गर्दै आएका छन् । जडीबुटीबाट पर्याप्त आम्दानी हुने भएपछि कृषक जडिबुटी उत्पादनमा लागेका छन् ।
अहिले जिल्लामा जडिबुडि खेती गर्नेहरुको संख्या पनि बढ्दै जान थालेको छ । डिभिजन बन कार्यालय सल्यानले जिल्लामा जडिबुटी उत्पादनको लागी राम्रो सम्भावना भएको जनाएको छ । गत आर्थिक बर्ष २०७५÷०७६ मा करिब २० करोड रुपैँया बराबरको जडिबुटी जिल्ला बाहिर निकासी भएको अनुमान गरिएको छ ।
जिल्लाबाट गत आर्थिक बर्ष २०७५÷०७६ मा जडिबुटी निकासीबाट १६ लाख २२ रुपैँया राजस्व संकलन भएको डिभिजनल बन अधिकृत थीर बहादुर कार्कीले बताउनुभएको छ ।