कर्णाली सरकारका विकास योजनाको अनुगमन शुरु (अडियोे सहित)

दैलेख, १९ मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारले विगत दुई वर्षमा गरेका विकास निर्माणका कामको अनुगमन शुरु भएको छ ।
कर्णालीका विभिन्न जिल्लामा अनुगमन गर्ने तयारीमा रहेको प्रदेशको सार्वजनिक लेखा समितिले दैलेखबाट अनुगमन शुरु गरेको हो ।
दैलेखमा आज भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट भएका विकासका योजनाको अनुगमन गरिएको छ ।

अनुगमन गरिएको मध्येको एक कोतगढी । तस्वीरः पंखबहादुर शाही

पहिलो दिन कतगढीको पर्खाल निर्माणको काम, पुरानो बजारबाट शिरस्थान जाने बाटो र कोटिला मन्दिर संरक्षणका लागि गरिएको कामको अनुगमन भएको छ । सवै जिल्लाको अनुगमन गरेर एकमुष्ट प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा सार्वजनिक लेखा समिति लागेको छ ।
दैलेखबाट शुरु गरी कर्णाली प्रदेशका सवै जिल्लामा अनुगमनको काम गर्ने तयारी रहेको सार्वजनिक लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठले जागरणलाई बताउनुभयो ।

श्रेष्ठको आवाज सुन्नुहोस्ः

समितिले दैलेखमा पर्सी शनिबारसम्म योजना र कामको अनुगमन गरी फर्किने तयारी गरेको छ । अनुगमनमा दैलेखबाट निर्वाचित भएका साँसदहरुको पनि सहभागिता छ ।
अनुगमन शुरु हुनुभन्दा पहिला भएको छलफलमा दैलेख निर्वाचन क्षेत्रनम्वर २ का बाट निर्वाचित प्रतिनिधि सभा सांसद राजबहादुर बुढाले दुई वर्षमै देश सही मार्गमा आएको बताउनुभयो । उहाँले सुशासनका माध्यमबाट समाजबादतिर लिन सबै एकजुट हुन जरुरी रहेको पनि बताउनुभएको छ ।
यस्तैै दैलेख निर्वाचन क्षेत्रनम्वर १ (क) बाट निर्वाचित कर्णाली प्रदेश सभाका साँसद् धर्मराज रेग्मीले जनप्रतिनिधी पनि पछिल्लो समय भष्टाचारमा लाग्न थालेकाले सवैले खवदारी गर्नुपर्नेमा जोड दिनुभयो ।